खेल

यू–१९ एसिया कप: भारतलाई पराजित गरेर इतिहास रचेको नेपाल पहिलो पटक सेमिफाइनलमा

यू–१९ एसिया कप: भारतलाई पराजित गरेर इतिहास रचेको नेपाल पहिलो पटक सेमिफाइनलमा

नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह उप–विजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

यू–१९ क्रिकेटमा नेपाल एसिया कपको सेमिफाइनलमा पुगेको यो नै पहिलो पटक हो । एशोसिएट राष्ट्रबाट भारत पहिलो पटक नेपालबाट पराजित भएको हो । उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटक च्याम्पियन बन्न सफल भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूह चरणबाट बाहिरिएको हो ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा र्गयो । बंगलादेशका लागि पिनाक घोषले सर्वाधिक ८१ रनको अविजित पारी खेले ।

यसअघि रोयल सिलांगोर क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो ।

समूह एमा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।

यसअघि आजै भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलको दाबेदार बनेको थियो । नेपालले मलेसियालाई ४५ रनमै अलआउट पार्दै ४६ रनको लक्ष्य दुई विकेटको क्षतिमा ५ ओभर ३ बलमै भेटाउन सफल भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँगको रोमाञ्चक खेलमा २ विकेटको हार व्यहोरेको थियो । त्यस्तै दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गर्दै इतिहास रच्न सफल भयो ।

यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरियो । अब नेपालले सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अर्को समूहको समूह विजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगको हो ।

पहिलो सेमिफाइनलमा बिहीबार बंगलादेश र अर्को समूहको उपविजेता पाकिस्तान भिड्नेछन् । श्रीलंका र युएई समूह चरणबाटै बाहिरिएका छन् ।

ACC U-19 Asia Cup

विशेष