खेल

यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्र, एसियाबाट पाँच देश

यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्र,  एसियाबाट पाँच देश

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक पेरु अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको लागि छनोट हुने अन्तिम टोली बनेको छ । अन्तरमहादेशीय प्ले अफ् दोस्रो लेगको खेलमा न्यूजिल्याण्डलाई २–० ले हराउँदै पेरुले रुसको टिकट काटेको हो ।

पेरुको राजधानी लिमामा आज बिहान भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन जेफर्सन फारफान र क्रिश्चियन रामोसले एक–एक गोल गरे । जितसँगै पेरु ल्याटिन अमेरिकी समूहबाट विश्वकपमा छानिने पाँचौ टोली बन्दा ओसियाना समूहको विजेता न्युजिल्याण्ड भने बाहिरिएको छ ।

यो सँगै विश्वकपका लागि सबै ३२ टोलीको टुंगो लागेको छ । यसपटक युरोपबाट सबैभन्दा बढी १४ टोलीले विश्वकप खेल्दैछन् ।

आयोजक रुससँगै इङ्ल्यान्ड, जर्मनी, स्पेन, फ्रान्स, क्रोएसिया, सर्विया, स्विडेन, डनेमार्क, आईसल्याण्ड, पोर्चुगल, पोल्याण्ड, बेल्जियम र स्विट्जरल्याण्डले विश्वकपमा ठाउँ बनाएका छन् ।

यसैगरी दक्षिण अमेरिकाबाट पाँच टोली ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरुले विश्वकपका स्थान पक्का गर्दा एसियाबाट पनि पाँच राष्ट्र जापान, ईरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया विश्वकपका लागि छानिएका छन् ।

यसैगरी अफ्रिकाबाट ५ राष्ट्र नाईजेरिया, सेनेगल, ट्युनिसिया, मोरक्को र ईजिप्टले रुसको टिकट काट्दा उत्तर तथा मध्य अमेरिका एवं क्यारेबियन क्षेत्रबाट ३ राष्ट्र मेक्सिको, कोष्टा रिका र पानामाले विश्वकपमा ठाँउ बनाएका छन् ।

यसपटक ईटाली, नेदरल्याण्ड्स, अमेरिका, क्यामरुन जस्ता बलिया देश आगामी विश्वकपमा छनौट हुन सकेनन् ।

विशेष