Technology

इन्टरनेटमा ‘डायल अप’ युगको अन्त्य

इन्टरनेटमा ‘डायल अप’ युगको अन्त्य

काठमाडौं । इन्टरनेट प्रयोगकर्ता पक्कै पनि ‘डायल अप’ प्रविधिसँग जानकार हुनुपर्छ । इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिनुअघि पनि इन्टरनेट प्रयोग गरेको अनुभव छ भने डायल अप प्रविधिसँगका तीतामीठा अनुभव पक्कै छन् ।

मोडेमबाट किर्ररकिर्रर आवाज निकाल्दै मुस्किकले इन्टरनेट कनेक्सन गरेर अत्यन्त सुस्त गतिमा इन्टरनेट चलाउने युग अब अन्त्य भएको छ । नेपालमा डायल अपमार्फत इन्टरनेट चलाउने मानिसको संख्या करिब-करिब सकिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकलाई दृष्टिगत गर्दा नेपालमा अब डायल अप प्रयोग गर्ने मानिस एक सय ५१ मात्र छन् । त्यो पनि प्रयोगमा नभएको हुन सक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालको भनाइ छ । इन्टरनेटमा ब्रोडब्यान्ड प्रविधि भित्रिएसँगै डायल अप प्रयोग गर्नेको संख्या निरन्तर घट्दै गएको उनले बताए । निरन्तर घट्दो क्रममा रहेको डायल अप प्रविधि अहिले विस्थापित भएको छ।

डायल अप प्रविधिमार्फत इन्टरनेट प्रयोगकर्ता घटिरहँदा ब्रोडब्यान्डमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या भने प्रत्येक महिना बढ्दै गएको छ। अर्यालका अनुसार तथ्यांकमा उल्लेख भएको एक सय ५१ वटा डायल अप पनि इन्टरनेट सर्भिस प्रोभाइडर आईएसपीले दिएको तथ्यांक हो । नेपाल टेलिकम, वल्र्डलिंकजस्ता कतिपय कम्पनीले केही वर्षअघिबाट डायल अप प्रविधिको आफ्नो सेवा बन्द गरिसकेका छन् । ‘त्यो समय एक सय २८ केबीपीएस इन्टरनेट चल्थ्यो, त्यो पनि हाम्रा लागि ठूलो कुरा थियो’, केशव भट्टराईले भने, ‘इन्टरनेटको पहुँच छ भन्दा सानको विषय थियो ।’

विस्तारै प्रयोग घट्दै गएको डायल अप प्रविधि ०७२ सालसम्म आइपुग्दा घटेर १० हजारमा झरेको थियो । प्राधिकरणको ०७२ साउनको तथ्यांकअनुसार उक्त समयमा डायल अप प्रविधि प्रयोग गर्नेको संख्या १० हजार तीन थियो । त्यसको एक वर्षमा प्रयोगकर्ताको संख्या दुई हजार घटेको छ । ०७३ साल साउनमा डायल अप प्रयोगकर्ताको संख्या आठ हजार एक सय २० मा झरेको छ । त्यो संख्या ०७४ सालमा आइपुग्दा एक सय ५१ मात्र छ ।

डायल अप प्रविधिमार्फत इन्टरनेट प्रयोगकर्ता घटिरहँदा ब्रोडब्यान्डमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या भने प्रत्येक महिना बढ्दै गएको छ । अहिले एक करोड ६४ लाख २३ हजारभन्दा बढी मानिस इन्टरनेटसँग जोडिएका छन् । यो नेपालको कुल जनसंख्याको ६१।९९ प्रतिशत हो । प्राधिकरणले साउनमा जारी गरेको प्रतिवेदनलाई दृष्टिगत गरी एक महिनाकै अवधिमा कुल जनसंख्याको करिब एक प्रतिशत मानिस थप इन्टरनेटको पहुँचमा आएका छन् ।

यसमा सबैभन्दा बढी मोबाइलमार्फत इन्टरनेटसँग जोडिनेको संख्या छ । प्राधिकरणले साउनमा जारी गरेको प्रतिवेदनअनुसार जनसंख्याको अनुपातमा टेलिफोन प्रयोगकर्ता १३६।६९ प्रतिशत छन् । मोबाइल जीएसएम र सीडीएमए सेवा मात्रै पनि जनसंख्याको अनुपातमा १३०।२४ प्रतिशतले सब्स्क्राइबर गरिसकेका छन् ।

नेपाल टेलिकमको जीएसएम सिम एक करोड ५५ लाख एक हजार सात सय, एनसेलको जीएसएम सिम एक करोड ५८ लाख ८९ हजार र स्मार्ट टेलिकमको जीएसएम सिम १६ लाख २२ हजार पाँच सयभन्दा बढी बिक्री भएको छ । यसले गर्दा एक करोड ५७ लाख ४८ हजारभन्दा बढी मानिस मोबाइल इन्टरनेट अर्थात् जीपीआरएसमार्फत इन्टरनेटको पहुँचमा छन्।

अन्नपूर्ण पोष्ट

विशेष