मुख्य समाचार

नेपालका लागि अफगानिस्तान बाधक, फाइनलमा पुग्ने सपना अधुरै

नेपालका लागि अफगानिस्तान बाधक, फाइनलमा पुग्ने सपना अधुरै

काठमाडौं । एसिसी यू–१९ एसिया कपको फाइनल पुग्ने नेपालको लक्ष्यमा अफगानिस्तान बाधक बनेको छ।

आज मलेसियाको किनररा ओभलमा भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानले नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले दिएको १ सय ४ रनको लक्ष्य अफगानिस्तानले २०.३ ओभरमा ७ विकेटको क्षतिमा पार गरेर सहज रुपमा फाइनलमा स्थान पक्का गरेको हो।

नेपाली यु–१९ टिम सन् २०११ पछि अफगानिस्तानको युवा टिमसँग लगातार पराजित हुँदै आएको छ। सन् २०११ को आइसिसी यू–१९ विश्वकप छनोटमा ४२ रनले जितेयता नेपालले अफगानिस्तान विरुद्धका पाँच खेल गुमाइसकेको छ।

अफगानिस्तानको जितमा ओपनर रमानुल्लाह गुर्बाजले सर्वाधिक ७१ रनको योगदान गरे। उनले ६५ बलमा ९ चौका र २ छक्का प्रहार गरे। उनलाई सन्दीप लामिछानेले आउट गरे। दर्विस अब्दुल रसुलले नटआउट १२ रन जोडे। उनले २१औं ओभरमा २ छक्का हिर्काए।

इर्काम अली खिल १८ रनमा पवन सर्राफको बलमा आउट भए। त्यअघि अर्का ओपनर इब्राहिम जार्डान ३ रनमा आउट भए। उनलाई कमलसिंह ऐरीले सहाब आलमबाट क्याच गराए।

नेपालका लागि सन्दीप लामिछाने, कमलसिंह ऐरी र पवन सर्राफले १–१ विकेट लिए।टस जितेको अफगानिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले खराब ब्याटिङको नमूना प्रस्तुत गर्यो। नेपाल २८ ओभरमै १ सय ३ रनको झिनो योगफलमा अलआउट भयो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान अनिलकुमार साहले सर्वाधिक ५० रन जोडे। उनले ५७ बलको सामना गर्दा ७ चौका र १ छक्का प्रहार गरे। अनिलबाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालले १४ रन अतिरिक्त पायो।

नेपालले ओपनरद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखलाई सस्तैमा गुमायो। जितेन्द्र १ र आसिफ शून्य रनमा आउट भए।कप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। रोहितकुमार पौडेल ४ रनमै पेभेलियन फर्के। भीम सार्की ६ रन बनाएर खेलिरहँदा रनआउटको सिकार बने।

पवन सर्राफ ८ रनमा आउट भए। कमलसिंह ऐरी र किशोर महतो शून्य रनमा आउट भए। नेपालले पछिल्ला ४ विकेट १२ बलको बीचमा गुमाएको थियो। सन्दीप लामिछाने ७ रनमा रनआउट भए। सहाब आलम ७ रनमा अविजित रहे।

नेपालको ब्याटिङ ध्वस्त पार्न बलिङतर्फ अफगानिस्तानका मुजिब रहमानले ६ विकेट लिए। उनले पाकिस्तानविरुद्ध पनि ६ विकेट लिएका थिए। योसँगै मुजिबले प्रतियोगितामा १५ विकेट लिएका छन्। क्वाइस अहमदले २ विकेट हात पारे।

अब उपाधिका लागि अफगानिस्तानले पाकिस्तानसँग आइतबार प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानले बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २ रनको झिनो अन्तरले पराजित गरेको थियो।

विशेष