समाज भिडियो

‘वर्ल्ड शिख एड’को पहलमा भूकम्पमा भत्केको विद्यालय पुनर्निर्माण हुने (भिडियोसहित)

‘वर्ल्ड शिख एड’को पहलमा भूकम्पमा भत्केको विद्यालय पुनर्निर्माण हुने (भिडियोसहित)

काठमाडौं । २०७२ सालको भूकम्पपछि पीडितहरुको पीडामा मल्हम लगाउन नेपालमा धेरै व्यक्ति, संस्थाहरु क्रियाशील भए । भूकम्पले जर्जर सिन्धुपाल्चोकको लाभा गाउँका विद्यालयहरुले पनि दाता र सहयोगीहरु खोजी नै रहेको थियो । केहीले आश्वासन दिए, केही भेट्न मात्रै आए तर, लाभागाउँ प्राथमिक विद्यालयका लागि आडिलो सहयोगी संस्थाका रुपमा आयो– वर्ल्ड शिख एड । यो संस्था शिख सम्प्रदायद्वारा सञ्चालित परोपकारी संस्था हो । यसले विपतमा परेका मानिसहरुको हितका लागि कुनै जात, धर्म, भूगोल केही नभनी सेवा गर्छ । 

‘वल्र्ड शिख एड’ का प्रतिनिधि हर्सिम्रन जीतको नेतृत्वमा लाभागाउँ प्रावि पुनर्निर्माणको काम अगाडि बढ्ने भएको छ । दुवाचार वडा नं ८ स्थित लाभागाउँ प्राथामिक विद्यालयले अब चाँडै नै ‘वल्र्ड शिख एड’को सहयोग पाउने छ– वर्ल्ड शिखका प्रतिनिधि हर्सिम्रनले बताए ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि उक्त विद्यालयले पुनर्निर्माणको सहयोग पाउन सकेको छैन । विद्यालयमा कक्षा ४ मा अध्ययनरत विशाल तामाङले विद्यालय भत्किएकाले पढ्न अप्ठ्यारो भएको बताए । विद्यार्थीलाई कम्प्युटर चलाउन मन भए पनि विद्यालयले कम्प्युटर उपलब्ध गर्न नसकेको उनले गुनासो गरे ।

भूकम्प गएलगत्तै पनि ‘वर्ल्ड शिख एड’ले भूकम्पपीडितहरुका लागि आपतकालीन राहत र उद्धारमा सहायता गरेको थियो । हालै संस्थाले बालाजुमा गुरु नानक मठमा आयोजित गुरु नानक जन्मजयन्तीको अवसरमा ‘स्ट्रिट लंगर’को (निःशुल्क भोजन) आयोजना गरेको थियो । कार्यक्रमममा करिब १२ सय जनाले निशुल्क भोजन गरेका थिए ।

सन् २०१३ देखि सुरुवात गरिएको ‘स्ट्रिट लंगर’ हरेक वर्ष हुँदै आएको छ । निःशुल्क खानाको व्यवस्था भने हरेक हप्ता गर्दै आएको छ ।

विशेष