मुख्य समाचार

यी हुन् सरकारी गाडीको दुरुपयोग गरी भोटमाग्न जाने मन्त्रीहरु

यी हुन् सरकारी गाडीको दुरुपयोग गरी भोटमाग्न जाने मन्त्रीहरु


काठमाडौं । बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् ।

गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन् । संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् ।

बहालवाला सात मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । कांग्रेसको तर्फबाट बर्दिया १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सिँचाइमन्त्री सञ्जयकुमार गौतम, बर्दिया २ बाट उम्मेदवार बनेका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, सोही क्षेत्रबाट माओवादी उम्मेदवार रहेका विनाविभागीयमन्त्री सन्तकुमार थारूले चुनाव प्रचारमा सरकारी गाडी कुदाइरहेका छन् । थारूले जिल्ला प्रशासनबाट गाडी झिकाएर प्रयोग गरिरहेका छन् भने दहित र गौतमले मन्त्रीको हैसियतमा चढ्ने गाडी प्रयोग गरेका छन् ।

कांग्रेसका तर्फबाट धनुषा २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कृषिमन्त्री रामकृष्ण यादव, कांग्रेसकै तर्फबाट धनुषा ४ मा उम्मेदवार बनेका खानेपानीमन्त्री महेन्द्र यादव र माओवादीका तर्फबाट धनुषा ३ मा उम्मेदवार बनेका विनाविभागीयमन्त्री रामसिंह यादवले पनि सरकारी गाडी दुरुपयोग गरिरहेका छन् ।

माओवादीको तर्फबाट कालिकोटमा प्रदेश सभामा उम्मेदवार रहेका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पनि सुरु–सुरुमा चुनाव प्रचारमा सरकारी गाडी प्रयोग गरेका थिए । स्थानीयस्तरमा आलोचना हुन थालेपछि उनले सरकारी गाडीको प्रयोग रोकेका छन् ।

त्यस्तै, उर्जाराज्यमन्त्री कुन्ती शाहीले पनि सरकारी गाडीको दुरुपयोग गरिरहेकी छिन् । उनले सरकार र संसद सचिवालयबाट दोहारो गाडी सुविधा लिएकी छिन् । संसद विघटन भइसक्दा पनि उनी सचिवालयबाट लिएको बा.२ झ १६९२ नम्बरको गाडी अझै फिर्ता गरेकी छैनन् । समानुपतिक उम्मेदवार रहेकी उनी गृहजिल्ला दैलेखमा चुनावी प्रचारमा छिन् ।

सरकारी गाडी फिर्ता नगरेका संसद्का पूर्वपदाधिकारीहरू चुनावी प्रचारमा गृहजिल्लामा व्यस्त छन् । पूर्वउपसभामुख यादव १० दिनदेखि सप्तरीमा छन् । स्रोतका अनुसार उनी तत्काल काठमाडौं फर्किने मनस्थितिमा छैनन् । लोकतान्त्रिक फोरमको सचेतकको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका चौधरी अहिले दाङमा छन् ।

माओवादी केन्द्रकी नेतृ सीता नेपालीसमेत एक महिनादेखि सुर्खेतमा छिन् । उनी दोस्रो चरणको निर्वाचन अर्थात् २१ मंसिरपछि मात्रै काठमाडौं फर्किने छिन् ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गरिरहेका कांग्रेस नेता भीष्मराज आङदेम्बेले भने शुक्रबार गाडी फिर्ता गरेको संसद् सचिवालयले जनाएको छ । स्रोतका अनुसार सामाजिक न्याय तथा मानवअधिकार समितिको सभापतिको हैसियतमा सरकारी गाडी प्रयोग गर्दै आएका राप्रपाका श्रेष्ठ हाल गृहजिल्ला महोत्तरीतिर छन् ।

नयाँ पत्रिका

विशेष