समाज

हिन्दु विधि अनुसार प्रकाशको काजकिरिया नहुने, श्रीमती सिर्जना पनि अब लाजिम्पाटमै बस्ने

हिन्दु विधि अनुसार प्रकाशको काजकिरिया नहुने, श्रीमती सिर्जना पनि अब लाजिम्पाटमै बस्ने

काठमाडौं । हिन्दु विधि अनुरुप नै स्व. प्रकाश दाहालको दाहसंस्कार गरिएको भएपनि शास्त्रअनुसार १३ दिन नुन बार्ने र किरिया पुत्री बस्ने विधान भने दाहाल परिवारले नगर्ने भएको छ । हिन्दु विधानअनुसार उनका बाबु प्रचण्ड र दुई श्रीमतीले १३ दिन किरिया बिताउनु पर्ने हुन्छ । छोराहरुको भने उमेर पुगेका छैन ।

परिवार नै कम्युनिस्ट आन्दोलनमा लागेकाले प्रकाश दाहालको काजकिरिया नगरिने भएको हो । कम्युनिस्ट राजनीतिमा काजकिरिया गर्ने प्रचलन छैन । यही आधारमा प्रचण्डपुत्र एवं माओवादी केन्द्रका नेता स्व. प्रकाशको काजकिरिया गर्ने कार्यक्रम नभएको प्रकाशका मामा हेमराज पौडेलले जानकारी दिए ।

काजकिरिया नहुने भएपनि दाहालको सम्झनामा चितवनमा एमाले–माओवादी केन्द्रले मंगलबार श्रद्धाञ्जलि सभाको आयोजना गर्ने भएको छ । भरतपुरको केन्द्रीय बसपार्कमा एमाले–माओवादी केन्द्रले मंगलबारको पूर्वनिर्धारित चुनावी सभालाई श्रद्धाञ्जलि सभामा परिणत गर्ने तयारी छ । श्रद्धाञ्जलि सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

उता, प्रकाश दाहालको असामयिक निधनपछि यतिबेला प्रचण्ड परिवार शोकमा छ । शोकमा डुबेको परिवारका शुभचिन्तकहरुको चाहनाबमोजिम प्रचण्डले प्रकाश दाहालकी जेठी पत्नी सिर्जना दाहाललाई समेत अब लाजिम्पाटमै राख्ने भएका छन् । प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन् । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन् । त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते विवाह भएको थियो । उनीहरुका एक छोरासमेत छन् प्रसिद्ध । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, उनीहरुको सम्बन्धबिच्छेद भने भएको छैन । अब प्रचण्ड परिवार २ नातिको मुख हेरेर प्रकाश दाहाललाई भुल्ने प्रयास गर्नेछन् ।

विशेष