खेल

नेपालले दोस्रो खेलमा पनि अंक बाड्यो

नेपालले दोस्रो खेलमा पनि अंक बाड्यो


काठमाडौं । आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य भएको छ।

थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा नेपाल र हङकङबीच मंगलबार बिहानका लागि तय भएको खेल चिसो मैदानका कारण रद्द भएपछि दुवै टिमलाई समान १–१ अंक दिइयो। यो मैदानमा युएई र थाइल्यान्डबीच दिउँसो खेल हुने भएका कारण नेपाल र हङकङबीचको खेल हुन सम्भव नभएको हो।

लगातार दुई खेलमा अंक बाँडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालको २ अंक भएको छ भने शीर्ष स्थानको हङकङको ३ अंक छ।

यसअघि सोमबार भएको खेलमा पनि नेपाल र आयोजक थाइल्यान्डले अंक बाँडेका थिए। थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा विनाविकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो।

टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा ९० रन बनाएको थियो।

छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्।

विशेष