स्वास्थ्य

देशभर २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकालाई  आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले देशभरका ६ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोे जानकारी दिए ।

गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो ।

भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडापखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन् । सरकारले हरेक ६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ ।

पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालभिटा पनि खुवाइने बताए ।

उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए ।

विशेष