समाज

सशस्त्रका डीआईजी सिंहलाई सार्वजनिक स्थलमै महिलाको ‘किस’

भान्जी भनेर बाहिनीभित्रै बास

सशस्त्रका डीआईजी सिंहलाई सार्वजनिक स्थलमै महिलाको ‘किस’

काठमाडौं । प्रहरी सेवामा प्रवेश अवधि ढाँट्दै १६ महिना बढी जागिर खाएर हिजो शुक्रबार मात्र अवकाश पाएका विवादास्पद सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहले मध्यक्षेत्र बाहिनी पथलैयाको कार्यालयभित्र एक महिलालाई लामो समयदेखि राखेको पाइएको छ । काभ्रेको पनौती घर भएका अनुपमा अधिकारीलाई डीआईजी सिंहले ‘भान्जी’ भनेर लामो समयदेखि आफूसँगै राखेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

ती महिलाको सबै खर्च डीआईजी सिंहले नै टारिदिएको र उनलाई हिड्डुलका लागि सरकारी गाडीसमेत उपलब्ध गराएको पनि सशस्त्र स्रोतले जनाएको छ । डीआईजी सिंहको परिवार र आफन्त आउँदा भने सिंहले ती महिलालाई बाहिनी कार्यालय भन्दा बाहिर लिइएको कोठामा राख्ने गरेको पनि पाइएको छ ।

स्रोतका अनुसार, अनुपमा अधिकारी नामक ती महिलाको व्यवहारका कारण बाहिनीका सशस्त्र कर्मचारीहरु नै हैरान हुँदै आएका थिए । उनले तल्लो तहका कर्मचारीहरुलाई आफू मालिक्नी भएको भन्दै तल्लो स्तरका गाली गलौज गर्दै आएकी थिइन् । उनले सिपाहीदेखि हवल्दारसम्मका तल्लो तहका कर्मचारीलाई निकृष्ट भाषामा गालीगलौज गर्ने गरेको पनि स्रोतको दाबी छ । डीआईजी सिंहले अवकाश पाएसँगै ती महिलालाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने पनि तल्लो तहका कर्मचारीको माग छ ।

उनले सार्वजनिक स्थलमा समेत डीआईजी सिंहलाई कहिले मामा र कहिले काका भन्दै चुम्बन खाने गरेको पनि बताइएको छ । सिंह पथलैया आएको फागुन दोस्रो साता एक वर्ष पुग्दै थियो । ती महिला सिंह पोखराको बाहिनीपति हुँदा पनि पोखरामै बस्ने गरेको पनि पाइएको छ ।

सेवा प्रवेशको मिति ढाँटेको पुष्टि भएसँगै उनी शुक्रबारबाटै पदमुक्त भएका छन् । प्रहरी कितावखानाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी मुख्यालयमा मध्यक्षेत्र प्रमुख डीआईजी सिंहको सेवा अवधि २१ साउन २०७३ मै सकिएको भन्दै पत्र पठाएको हो । सो पत्रसँगै उनले अनिवार्य अवकाश पाएका हुन् । उनले अनिवार्य अवकाश पाउनुभन्दा थप १६ महिना बढी जागिर खाएको देखिएको छ ।

प्रहरी कितावखानाले डीआईजी सिंहले २१ साउन २०७३ मा अनिवार्य अवकाश पाएको पत्र लेखेको भए पनि सशस्त्र प्रहरी बलको कर्मचारी प्रशासन शाखामा भने उनको सेवा प्रवेशको मिति २१ चैत २०४५ उल्लेख छ । उनी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०४९ मा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका थिए ।

सिंहले २० साउन २०४१ सालमा नेपाल प्रहरीमा सिपाहीमा जागिर खाएकोमा हवल्दार भएपछि राजिनामा दिएको पाइएको छ । उनले २०४३ सालमा राजिनामा दिएको रेकर्ड समेत भेटिएको छ । सिंहले राजिनामा दिएको तर उपदान नलिएको देखिएको छ ।

प्रहरी कितावखानाले उनले सिपाहीमा दुई वर्ष १० महिना सात दिन जागिर खाएको र त्यसपछि भगौडा खाली देखिएको पनि जानकारी सशस्त्र मुख्यालयलाई दिएको छ । डीआईजी सिंहले ३० बर्से सेवा अवधि सुरु नहुँदै भगौडा खाली हुनुभन्दा अघिको समयसमेत जोडेकाले यो स्थिति आएको हो । नियमअनुसार पहिलाको जागिर अवधि जोड्न पाइन्छ ।

स्रोतकाअनुसार डीआईजी सिंहले रेकर्ड सच्याएर जागिर खाएको देखिएपछि प्रहरी किताबखानाले उनको बारेमा अनुसन्धान थालेको थियो । त्यसै सिलसिलामा किताव खानाले पनि उनको बारेमा सशस्त्र प्रहरीसँग थप जानकारी मागेको थियो ।

सशस्त्रका डीआईजीहरु सुवोध अधिकारी, जानकी भट्टराई, निराकरमविक्रम शाह, खडानन्द चौधरी र सिंहले आगामी १ चैतमा अनिवार्य अवकाश पाउँदै गरेकोमा सिंहबाहेक अन्यको पत्र आएपछि कितावखाना र सशस्त्र मुख्यालयले उनको फाइलबारे चासो देखाएको हो । प्रहरी किताबाखानाले अवकास पाउनु ६ महिनापूर्व अवकास हुन लागेको पत्र बुझाउने गर्छ ।

सशस्त्र प्रहरी बलमा यसअघि एआईजी अमर नेम्वाङ र एसपी शम्भु उप्रेतीले पनि सेवा अवधि ढाँटेर बढी जागिर खाएका थिए । एसपी उप्रेतीले सेवा अवधि ढाँटेकै कारण उनी स्वतः एसएसपी हुनबाट पनि वञ्चित भएका थिए । सेवा अवधि ढाँटेको पुष्टि भएपछि उनलाई एसपीबाटै अनिवार्य अवकाश दिइएको थियो ।
नियमअनुसार सेवा अवधिभन्दा बढी जागिर खाएको अवस्थामा त्यसपछिको तलव र सेवा सुविधा सबै फिर्ता गर्नुपर्छ । तर नेम्वाङ र उप्रेतीले अहिलेसम्म पनि तलव र सेवा सुविधा फिर्ता नगरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । स्रोतका अनुसार, तत्कालीन एआईजी नेम्वाङले ६ महिना बढी जागिर खाएपछि उनले सेवा अवधि ढाँटेको पुष्टि भएको थियो ।

शुक्रबार अवकाश पाएका डीआईजी सिंह सशस्त्र प्रहरी बलमा अत्यन्तै अलोकप्रिय र भ्रष्ट व्यक्तिका रुपमा चिनिन्छ । मातहत निकाय, उद्योगी र व्यापारीसँग रकम असुली गरेको उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालयले उनीमाथि छानबिनसमेत गरेको थियो । आर्थिकरुपमा पारदर्शी र संगठनका लागि केही नयाँ काम गरौं भन्ने मान्यता राख्ने सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले उनलाई कारबाही गर्न थाल्दा श्रेष्ठ आफै कारबाहीबाट पछि हट्न बाध्य भएका थिए ।
स्रोतका अनुसार, सशस्त्र प्रहरी बलको वर्तमान नेतृत्व आफूलाई जसरी पनि कारबाही गर्न लागेको सुइँको पाएपछि डीआईजी सिंहले शक्तिकेन्द्र गुहारेका थिए । त्यसपछि सशस्त्र नेतृत्व पछि हटेको थियो । कारबाही गर्नुपर्ने व्यक्तिलाई सचेत मात्रै गराइएपछि सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको पनि त्यसबेला चर्काे आलोचना भएको थियो ।

डीआईजी सिंह सशस्त्रका एकमात्र त्यस्ता भाग्यमानी व्यक्ति हुन् जो एउटा क्षेत्रबाट अर्काे क्षेत्रको बाहिनीपति बन्न सफल भएका थिए । उनी पश्चिम क्षेत्रबाट मध्यक्षेत्रको बाहिनीपति बन्न सफल भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नचाहँदा नचाहँदै उनलाई मध्यक्षेत्र पठाइएको थियो । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको दबाबमा उनलाई त्यहाँ पठाइएको थियो । पश्चिम क्षेत्रमा रहँदा पनि डीआईजी सिंहको कार्यशैलीको चर्काे आलोचना भएको थियो ।

सामान्य बेसबाट १० हजार, बीओपीबाट २० देखि ५० हजार, सीमा सुरक्षा कार्यालय (सिसुका) बाट ५० हजार र गणबाट ५० देखि एक लाख रुपैयाँसम्म उनले असुल्दै आएका थिए । यसका लागि सशस्त्र कर्मचारीहरुलाई बिदा छाड्न पनि उनले निर्देशन दिएका थिए । बेसदेखि गण र सिसुका प्रमुखहरुले रासनको पैसाबाट उनलाई तोकिएको रकम बुझाउनै पर्ने बाध्यता थियो ।

डीआईजीको पाँच बर्से सेवाअवधिका कारण आगामी १ चैतमा अनिवार्य अवकाश पाउन लागेका सिंहले एआईजीको दरबन्दी थप गरेर आफू एआईजी बन्नका लागि पनि चर्कै लविङ गर्दै आएका थिए । सशस्त्र मुख्यालयले पाँच जना एआईजीको थप दरबन्दी माग गर्दै गृह मन्त्रालयलमा पत्राचारसमेत गरिसकेको छ ।

 

 

विशेष