अन्तरवार्ता भिडियो इतिहास र अनुभूति

रवीन्द्र मिश्रले मेराे बारेमा गलत कमेन्ट गर्नु भयाे, तर मेराे भाेट उहाँलाई नै हाे (भिडियोसहित)

रवीन्द्र मिश्रले मेराे बारेमा गलत कमेन्ट गर्नु भयाे, तर मेराे भाेट उहाँलाई नै हाे  (भिडियोसहित)

काठमाडौं । डा. सुरेन्द्र केसी नेपाली राजनीतिलाई सुक्ष्म ढंगले विश्लेषण गर्नु हुन्छ । नेपालआज डटकममा नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’ मा डा. केसीले आफ्ना विचारहरु राख्ने गर्नु हुन्छ । प्रस्तुत छ उहाँसँगको पछिल्लो कुराकानीको मूल सार :

‘म रसिया भ्रमणमा गएको बेला मेरो नाम उद्धृत गर्दै एक खालको चर्चा भएछ नेपालमा । त्यो चर्चा के भने नेपाललाई भारतमा मिसाउदा के हुन्छ ? भन्ने अभियान बिबिसीमा रहँदा रवीन्द्र मिश्रले चलाएका हुन् भन्नेबारे । यो विषयबारे कसैले स्पष्ट पारेनन् । कतै मेरो नाम नै लिएर कतै अप्रत्यक्ष एक प्रोफेसरले भनेको भनेर चर्चाहरु भएछ । खासमा मैले यसबारे बोलेको चाहिँ हो । वास्तविकता के हो भने एक वर्षअगाडि सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिँदा यो कुरा मैले बोलेको थिएँ । कुराकानीको अन्त्यतिर हठात यस्तो प्रश्न मलाई गरियोे । र मैले भनेँ कि– बिबिसी वर्ल्ड सर्भिसले नेपाललाई भारतको सुरक्षा छातामा राख्दा के हुन्छ ? भने जुन प्रश्न सोध्यो, त्यो आपत्तिजनक थियो ।

बिबिसीले त्यस्तो कुकर्म गरिरहँदा रवीन्द्र मिश्रको भूमिका के थियो ? त्यो बेला उनले के गरे

मैले टेलिभिजन अन्तर्वार्तामा भनेको कुरा यही हो । त्यो अन्तर्वार्ता अहिले पनि युट्युवमा हेर्दा हुन्छ । सत्य कुरा नखोज्ने, रे का भरमा कसैलाई आरोप प्रत्यारोप गर्नु ठिक हुँदैन । त्यही कुरा एक मतदाताले रवीन्द्र मिश्रलाई पनि सोधेछन् । अनि रवीन्द्र मिश्र जस्तो पढेलेखेको, देश दुनियाँ बुझेको मानिसले दिएको जवाफ पनि अशोभनीय छ । कसैले एक प्रोफेसरले यसो भन्नु भयो रे नि भन्दा मिश्र पनि विश्वास गरेर उफ्रिनु भएछ । प्रोफेसरले भनेकै हो कि होइन भन्ने स्पष्ट नभई उहाँले भन्नुभयो कि, उहाँ कस्तो प्रोफेसर, उहाँले पढाएका विद्यार्थी कस्ता होलान् ?

यस तरिकाले यस विषयमा रवीन्द्र मिश्र चिप्लिनु भएको छ । उहाँले त मेरो क्षमता, दक्षतामै प्रश्न उठाउनु भएको छ । मेरा २५ वटा पुस्तक प्रकाशित छन् । जसमा आधा जति त अनुसन्धानमा आधारित छन् । १ हजार लेख लेखेको छु । जसमा आधा त अनुसन्धानमा आधारित छन् । १५ सय वटा अन्तर्वार्ता दिएको छु । यसमा कहीँ न कहीँ ‘क्रेडिबिलिटी’ छ ।

म अहिले पनि रवीन्द्र मिश्रसँग यस विषयमा बहस गर्न तयार छु । बहस चाहिँ नगर्ने, अनि कुरा नबुझी हावाको भरमा बोल्दै हिँडेर हुन्छ ?

म आफूले बोलेका कुरामा स्पष्ट छु । रवीन्द्र मिश्रबारे निकृष्ट अभिव्यक्ति दिएको छैन । म खुला बहस गर्न नै तयार छु भनेपछि सक्किगयो । अर्को कुरा के भने मैले रवीन्द्र मिश्रको नचाहिँदो आलोचना चाहिँ किन गर्दै हिँड्नु छ र ? यो गर्नु मलाई आवश्यक छैन । जहाँसम्म उहाँको जुन अभियान छ त्यो अभियानको म आफै पनि समर्थक हो । यो देशको राजनीति सफा छैन भन्ने कुरामा मैले जति बोलेको अरु कसले होला र ? त्यसमाथि रवीन्द्र मिश्र मेरै क्षेत्रको उम्मेदवार पनि हुनुहुन्छ ।

मैले आजसम्म गुण र दोषका आधारमा भोट दिँदै आएको छु । पहिले माओवादीलाई दिएँ । केही गर्ला भन्ने आशा थियो । त्यसपछि गणेशमानका छोराका नाममा प्रकाशमानलाई भोट हालेँ । स्थानीय तहको निर्वाचनमा पनि विद्यासुन्दर शाक्यलाई दिएँ । अहिले पश्चाताप भयो । मैले त आगामी पाँच वर्षपछि पनि एमालेलाई भोट नहाल्नु भनिसकेको छु । विद्यासुन्दरकै कारण यसो भनेको हो मैले ।

अब यसपटक मेरो क्षेत्रबाट उठेका रवीन्द्र मिश्रलाई भोट हाल्न सक्छु । मेरो कुनै रिजर्भेसन छैन । म किन रवीन्द्र मिश्रलाई भोट हाल्छु भने उहाँले जे आवाज उठाइरहनु भएको छ, त्यो आवाज संसदमा पुग्छ । यसकारण पनि म मिश्रलाई भोट हाल्छु । तर मलाई आश्चर्य लाग्छ कि रवीन्द्र मिश्र नै मेरो बारेमा अनेकन कुरा गर्दै हिँड्नु हुन्छ । उहाँ आफैले मलाई सोधे हुँदैन र ? मलाई नसोध्ने मेरो बारेमा भन्दै हिँडेको देखेर आश्चर्य लागेको छ ।

रवीन्द्र मिश्रका बारेमा अरु कुरा पनि छन् । म उहाँलाई च्यालेन्ज नै गरेर भन्छु, युकेमा उहाँले मनोज पण्डितलाई कस्तो व्यवहार गर्नुभयो ? उहाँले राम्रा मान्छे कतिलाई एक्स्पोजर दिनु भयो ? म आफै चीन जाँदा बेइजिङमा फिक्स भएको मेरो रेडियो अन्तर्वार्ता लीलामणि पौडेलले भाँडिदिनुभयो । यस्ता त छन् नेपालका मान्छे ।’

Dr. Surendra KC

विशेष