समाज

सशस्त्रको केन्द्रीय लेखाशाखामा पूर्वआईजीपी राईको मस्ती

क्यान्टिनको बिलखर्च पनि लेखा शाखाबाटै

सशस्त्रको केन्द्रीय लेखाशाखामा पूर्वआईजीपी राईको मस्ती

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक (आईजीपी) दुर्जकुमार राईले अवकाशपछि पनि क्यान्टिनमा खाने गरेको खाजाको बिल सशस्त्रको लेखा शाखालाई नै तिराउने गरेको समाचार छ । सशस्त्र प्रहरी मुख्यालयभित्रै रहेको क्लवमा हुने गतिविधिमा सहभागी भएपछि उनले सशस्त्रकै क्यान्टिनमा खाने गरेको र बिल चाहिँ लेखा शाखालाई तिराउने गरेको पाइएको हो । 

राईले २ फागुन २०७३ मा ३० बर्से सेवा अवधिका कारण सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) बाट अवकाश पाएका थिए । उनले खाएको फागुनदेखि असोजसम्मको क्यान्टिनको बिल सशस्त्र लेखा शाखाले तिरेको हो ।

लेखा शाखाका तत्कालीन प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) दिलकुमार घिमिरे उनकै कार्यकालमा सशस्त्रको लेखा शाखा प्रमुख बनेका थिए । केन्द्रीय लेखा शाखा प्रमुख हुनुभन्दा अघि पनि घिमिरे राई एआईजी हुँदा उनले सम्हालेको विभागका एकाउन्टेन्ट थिए । राईले नै उनलाई केन्द्रीय लेखा शाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।

घिमिरे अहिले शान्ति मिसनमा जानका लागि ककनीमा तालिम गरिरहेका छन् । उनी केही सातामै शान्ति मिसनमा जाँदैछन् । घिमिरे लेखा शाखा प्रमुख भएकै बेला भदौ तेस्रो साता वर्तमान आईजीपी सिंहबहादुर श्रेष्ठले सो शाखाको प्रमुखमा डीएसपी धुव केसीलाई ल्याएका थिए । केसी आएको केही समयपछि भने पूर्व आईजीपी राईले खाएको बिल लेखा शाखाले तिर्न छाडेको स्रोतले जनाएको छ ।

राई तिनै व्यक्ति हुन्, जो अवकाशपछि पनि सशस्त्र प्रहरीकै गाडी र पैसामा सशस्त्रका विभिन्न युनिट भ्रमणमा गएका थिए । जसको त्यतिबेला चर्काे आलोचना भएको थियो ।

विशेष