मुख्य समाचार

नेपालमा आणविक विकिरण फैलिने खतरा

नेपालमा आणविक विकिरण फैलिने खतरा

काठमाडौ । मानव स्वास्थ्यका लागि ज्यादै घातक मानिने आणविक विकिरण नेपाली आकाशमा भए नभएको अनुगमन तथा अध्ययन गर्न सरकारले देशका विभिन्न सातवटा स्थानमा मेसिन जडान गर्न थालेको छ ।

एसियाली मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेशले आणविक भट्टी सञ्चालनमा वार्षिक ठूलो लगानी गरिरहेका बेला नेपालले भने आफ्नो वायुमण्डलमा आणविक विकिरण रहे वा नरहेको अध्ययन गर्न पहिलोपटक यो प्रयास थालेको हो ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत आणविक विकिरण अनुगमन नेटवर्क स्थापना गरी सरकारले आउँदो तीन महिनाभित्र विभिन्न सातवटा स्थानमा आणविक विकिरण अध्ययन यन्त्र जडान गर्ने भएको हो ।

यो कार्यका लागि सरकारलाई इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले यन्त्र उपकरण र नेपाली प्राविधिकलाई दक्ष बनाउने तालिम दिने भएको छ ।

विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार दक्षिणी, पूर्वी र पश्चिमी सिमाना नजिक ती यन्त्र स्थापना गरिनेछन् । स्थान छनोटका लागि विज्ञहरूसँग छलफल गरी टुङ्गोमा पुगिने पनि उहाँले बताउनुभयो ।

सम्भवतः काठमाडौँ र पोखराबाहेक पूर्वी पहाडको ताप्लेजुङ, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा यस्तो मेसिन राखिनेछ ।

आणविक विकासमा धेरै प्रगति गरेका चीन र भारतका बीचमा नेपाल रहनुले जुनसुकै बेला पनि आणविक विकिरण फैलिनसक्ने खतराका कारण सरकारले विकिरणसम्बन्धी अनुगमन गर्न यो योजना थालनी गरेको हो ।

गोरखापत्र

विशेष