पुर्पक्षका लागि मात्र जेल परेका व्यक्ति भन्छन्– जवानीमा जेल हाल्यो बूढो भएपछि छाड्यो (भिडियो सहित)
मञ्जु मिश्र
काठमाडाैं । कुनै कसुरविना पुर्पक्षको लागि भन्दै सात वर्ष जेल बसेको मान्छेको मनमा के कुरा खेल्दो हो ! परिवारको पीडा कस्तो हुँदो हो ! उनलाई अदालतले सरकारको एउटा प्रतिवेदनको आधारमा सात वर्षसम्म जेलमा राखेको थियो ।
उनले ललितपुरको नख्खु जेलमा परेपछि उनकी जीवन संगीनी दीपा गौतमले पछिल्लो डेढ वर्षदेखि निरन्तर धर्ना दिइन् । अन्ततः पाटन उच्च अदालतको फैसलाले उनलाई बेकसुर सावित गरिदियो । उनी रिहा भए ।
सुरुमा एउटा कम्पनीको आठौँ सञ्चालक भनेर प्रतिवेदन बनाई सरकारले ठगीको आरोप लगाएको थियो । सात वर्षपछि उनी कम्पनीको सञ्चालक नभई सामान्य कर्मचारीमात्र भएको ठहर भयो । उनी रिहा भए तर जेलमा बितेको सात वर्ष फर्किएन । उनको पीडा कम भएन । यो तिनै निर्दोष बन्दी विश्वनाथ गौतमको कथा हो ।
विश्वनाथ गौतम जेल जानुअघि नेपालमा पिरामिड शैलीको सञ्जाल व्यापारमा लोकप्रिय बनेको युनिटी लाइफ नामक कम्पनीमा निर्देशकको पदमा कार्यरत थिए । युनिटीले उनलाई राम्रो तलब सुविधा दिएको थियो । बढ्दो लोकप्रियतासँगै कम्पनी सरकारले ठगी धन्दामा संलग्न भएको आरोपमा बन्द गराइदियो । देशभरीबाट युनिटीका सञ्चालकसहित अन्य जिम्मेवार कर्मचारीहरूको धरपकड भयो । त्यसमा मुछिए विश्वनाथ गौतम पनि । कम्पनीका पैसावाल केही सञ्चालकहरू अदालतलाई मोटो रकम बुझाएर धरौटीमा रिहा भए । धरौटी बुझाउन नसकेका विश्वनाथले चाहिँ अदालतको फैसला कुर्दै सात वर्ष कारागारमा बन्दी जीवन बिताउनु पयो ।
उनी जेल गएपछि चार जना छोराछोरीको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी उनकी श्रीमती दीपा गौतमलाई एक्लै आइप-यो । हुर्कंदै गरेका छोराछोरीलाई बाबु हुँदा हुँदै टुहुरो जस्ता भए तर दीपाले हरेश खाइनन् । भाग्यलाई धिक्कारिनन् । उनले अनेक सास्ती बेहोर्दै छोराछोरीको जिम्मेवारी लिइन् र नयाँ बानेश्वरस्थित संविधानसभा भवनअगाडि आफ्नो पतिको रिहाइको माग गर्दै धर्ना गरिरहिन् । एक दिन त अदालतले विश्वनाथ गौतमको कसुर छैन भन्ने अवश्य सुन्ला भन्ने विश्वास उनले गरिन् ।
आफ्नो हट्टाकट्टा, गरीखाने जागिरे श्रीमान् सात वर्ष कुनै कसुरविना जेल परेर निस्कँदा दीपाको मन कुँडिएको छ । विश्वनाथ ‘दारीवाल बूढो’ जस्ता भएका छन् । विश्वनाथले जेलको कालो कोठरीबाट मुक्ति त पाए तर गौतम दम्पतीको धर्ना सकिएको छैन ।
त्यही आन्दोलनलाई पूर्णता दिन ‘देउतालाई दण्ड’ शीर्षकमा एउटा पुस्तक पनि सार्वजनिक गरेका छन् । दीपाको नजरमा उनका श्रीमान् देउता हुन् । त्यसैले पुस्तकको नाम ‘देउतालाई दण्ड’ राखियो । दीपाले हामीसँगको कुराकानीमा आफ्नो वेदना पोखिन् । यस पुस्तकमा दीपाले आफ्नो सुखी परिवार राज्यको षड्यन्त्रमा परेर बर्बाद भएको घटनाको नालीबेली पेश गरेकी छन् ।
विश्वनाथले जेलबाट मुक्ति त पाए तर गौतम दम्पती अब क्षतिपूर्ति पाउन आन्दोलनमा छन् । विश्वनाथलाई विनाकसुर सात वर्ष जेलमा राख्दा परिवारले भोग्नु परेको आर्थिक, नैतिक र सामाजिक क्षर्तिको लागि उनीहरूको संघर्ष चल्नेछ ।