समाज

पृथ्वीनारायणको शालिक पुनःस्थापना गर्न अनशन

पृथ्वीनारायणको शालिक पुनःस्थापना गर्न अनशन

पोखरा । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग राख्दै बुधबारदेखि पोखरालेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन सुरु गरिएको छ ।

पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा सुरु गरिएको रिले अनशन मंसिर २० गतेसम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर खरालले बताए ।

पहिलो चरणअन्तर्गत बुधबार डा.दिलबहादुर क्षेत्री, पदमबहादुर कार्की, पूर्व सभासद् कृष्णकुमारी परियार, रामप्रसाद वस्ताकोटी, डिलबहादुर अधिकारी, पूजा शाह, टंकनाथ बराल, रुकु परियार र कृत्तिका परियार रिले अनशन बसेका छन् ।

अनशन सुरु गर्न आयोजित कार्यक्रममा पूर्व सभासद् तथा उद्योगपति सूर्यबहादुर केसीले पूर्ववत् पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा महानगरपालिकाले शहीद लखन थापाको शालिक पुनः राख्नु गलत भएको बताए ।

संघर्ष समितिका सदस्य डा।दिलबहादुर क्षेत्रीले पृथ्वीनारायण शाहसँग तुलना गर्ने कुनै विभूति नभएको बताउँदै पृथ्वीचोकमा पूर्ववत् पृथ्वीनारायणकै शालिक राख्नुपर्ने उल्लेख गरे ।

दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले पृथ्वीनारायण शाहको शालिक तोडफोड गरेपछि उक्त चोकमा मगर संघले शहीद लखन थापाको शालिक निर्माण गरेको थियो ।

सडकको ट्राफिक व्यवस्थापनमा कठिनाइ र सडक साँगुरो भएपछि पोखरालेखनाथ महानगरपालिकाले गत असोज ९ गते लखन थापाको शालिक हटाएकोमा पुनः नगरपालिकाबाट बजेट विनियोजन भई लखन थापाको शालिक निर्माण भइरहेको छ ।

शालिक हटाएकै भोलिपल्ट असोज १० गते मगर समुदायको दबाबपछि जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा लेखनाथ महानगरपालिकाबाट उक्त स्थानमा पुनः लखन थापाको शालिक निर्माण गर्ने निर्णय गरिएको थियो ।

विशेष