मुख्य समाचार

६५ प्रतिशत मतदान, कहाँ कति खस्यो

६५ प्रतिशत मतदान, कहाँ कति खस्यो

काठमाडौ।  संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ ।  

आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा मतदान भएको हो । बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि चिसो मौसमका कारण हिमाली क्षेत्रमा केही ढिलो गरी मात्र मतदान कार्य प्रारम्भ भएको थियो । थोरै मात्र मतदाता रहेका केन्द्रमा पनि कर्मचारीले आयोगले तोकेको साँझ ५ बजेसम्म मतदाता कुरेर बसेका थिए ।  

सिन्धुपाल्चोक, रुकुम, भोजपुर, दार्चुला र बाजुराका केही मतदान केन्द्रमा झडप भए पनि मतदान कार्य शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको आयोगले जनाएको छ । मतदानस्थलमा वृद्धवद्धा, सुत्केरी र युवाको लामो पंक्ति उपस्थित देखिन्थ्यो ।   यसअघि तीन चरणमा सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशत मत खसेको थियो । २०७० को दोस्रो संविधानसभामा ७० प्रतिशत, ०६४ को संविधानसभा निर्वाचनमा ६१ दशमलव सात प्रतिशत, ०५६ सालको निर्वाचनमा ६५ दशमलव आठ र ०५१ को निर्वाचनमा ६१ दशमलव आठ र ०४८ सालको निर्वाचनमा ६५ दशमलव १४ प्रतिशत मत खसेको थियो ।   प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उत्साजनक रूपमा मतदान सम्पन्न भएको जनाउँदै संविधान कार्यान्वयनलाई पूर्णता दिन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मतदाताको व्यापक सहभागिताबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।   उनले भने, ‘स्थानीय तहमा टोल छिमेकका नेता छान्न ७० प्रतिशतभन्दा माथि मत खसेको थियो । यो राष्ट्रिय चुनाव भएकाले पनि मत कम खसेको हो।’  

आइतबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘छिटफुट घटनाबाहेक उत्साहजनक रूपमा मतदान भएको छ । आयोग अब दोस्रो चरणको मतदान गराउने प्रक्रियामा छ ।’हिमाली जिल्लामा जाडो सुरु, मतदाता सहर पस्नु तथा पश्चिमी जिल्लाका मतदाता विदेशिएका कारण मत प्रतिशत घटेको आयोगको जनाएको छ ।संघीयता कार्यान्वयनका लागि जनताले उत्साहजनक रूपमा मतदानमा सहभागी भएको पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ बताउँछन्।     उनी भन्छन्, ‘जाडो मौसमका कारण हिमाली जिल्लामा मत कम खसेको हो । समग्रमा हेर्दा मत प्रतिशतको परिणाम राम्रो हो ।’पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रुकुम पूर्वी भाग, रुकुम पश्चिम भाग, रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी ३२ जिल्लामा मतदान भएको हो ।  

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको जानकारी दिए । समानुपातिकतर्फ ५४ र प्रत्यक्षतर्फ ३४ दल चुनावी प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ साँढे चार सय उम्मेदवार चुनावी मैदान थिए ।निर्वाचनका लागि प्रत्यक्षतर्फ दुई अलग–अलग र समानुपातिकतर्फ एउटै गरी तीन खाले मतपत्रको प्रयोग गरिएको छ । मतपत्र छरितो भएकाले स्थानीय तहमा भन्दा बदर मत कम हुने आयोगले विश्वास लिएको छ । आजको

अन्नपूर्ण पोस्ट् 

विशेष