मुख्य समाचार

नयाँ शक्तिको बन्द सूचीमा ११० कै नाम, विवेकशील साझाले बुझायो २५ जनाको नाम

नयाँ शक्तिको बन्द सूचीमा ११० कै नाम, विवेकशील साझाले बुझायो  २५ जनाको नाम

काठमाडौं । प्रत्यक्षतर्फ एक सिट जित्न ‘आयाराम–गयाराम’ शैली अपनाएर संघर्ष गरिरहेको नयाँ शक्तिले समानुपातिकमा भने सबै भोट आफैले पाउने झै गरी ११० सिटमै बन्द सूची पेश गरेको छ ।

प्रमुख राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता सम्हाल्न र आफ्नो वर्चस्व स्थापित गर्न भएजति सबै सिटमा नाम भरेर बुझाउने गर्छन् । साना दलहरुले मुस्किलले २–४ सिट पाउँछन् । त्यस्तोमा पूरै सिटमा दावी गरेर नाम बुझाइरहनु पर्दैन । वैकल्पिक शक्तिको वकालत गर्ने तर अवसर हुँदा गठबन्धनमा जाने, फेरि फर्किने शैली अपनाएको नयाँ शक्तिलाई चुनौती दिने भनेर परिचय बनाएको विवेकशील साझा पार्टीले भने सनो बन्द सूची बुझाएको छ । विवेकशीलले २५ जनाको मात्रै नाम पठाएको हो ।

नयाँ शक्तिले नायिका करिश्मा मानन्धरदेखि हिसिला यमीकी दिदी तिमिला यमीसम्मलाई समानुपातिकमा राखेको छ । राष्ट्रिय पार्टी हुनका लागि यसपटक नयाँ शक्ति र विवेकशिल साझा पार्टी प्रयासरत छन् । राष्ट्रिय पार्टीका लागि एक प्रत्यक्ष र कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।
देशभरबाट तीन प्रतिशत मत नल्याए समानुपातिक कोटाबाट पनि दलका बन्द सूचीमा रहेका उम्मेदवारहरु सांसद निर्वाचित हुने छैनन् ।

विवेकशीलको सूची

विवेकशीलको प्रतिनिधिसधातर्फको बन्दसूचीको पहिलो नम्बरमा अनुशा थापाको नाम छ भने काठमाडौं उपत्यकामा स्थानीय चुनावमा भाग लिएर राम्रो भोट पाएका नेताहरुलाई उसले बन्दसूचीमा स्थान दिएको छ ।

तथापि काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनालाई भने उमेर हदका कारण यसपटक विवेकशील साझा प्रत्यक्ष वा समानुपातिक कतै पनि राखेन ।

विवेकशील साझा पार्टीको बन्दसूचीमा रमेश महर्जन, निरुपमा यादव, प्रकाशचन्द्र परियार, मुमाराम खनाल लगायतको नाम छ । त्यसैगरी २५ जनाको बन्दसूचीमा विवेकशील साझा पार्टीले उमेदकुमार पुन शेरपुञ्जा, प्रतिभा डंगोल, प्रमोद बारघरे, सुनिता कर्माचार्य श्रेष्ठ, जानुका तामाङ, राम तपस्या कुमार साह, खुश्बु शर्मा लगायतको नाम बन्द सूचीमा राखेको छ ।

त्यसैगरी प्रदीपकुमार यादव, अरुण चौधरी, गौरी कुमारी चौधरी, गेहेन्द्रप्रसाद दाहाल, रेशु अर्याल ढुंगाना, विमला पन्त (ओझा) सोनिका लामा केसी, ऋचा थापा, शुदर्शन धिताल, हर्कबहादुर पुजारा, शोभिता परियार, राधिका दर्जी र सवनम जहांको नाम विवेकशील साझा पार्टीको बन्द सूचीमा समेटिएका छन् ।
विवेकशील साझा पार्टीले प्रदेशहरुमा पनि सीमित उम्मेवार उठाएको छ । तर, उसले प्रत्यक्षतर्फ पनि जित्ने लक्ष्य राखेको प्रदेश नम्बर ६ मा भने केही बढी संख्यामा समानुपातिक उम्मेदवार बनाएको छ ।

विशेष