ओली भन्छन्, "दुर्इ महिनामा सरकार बनाउँछौँ"
ताप्लेजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको दुई महिनामा सरकार बन्ने र मुलुक समृद्धिको बाटोमा जाने साथै जनचाहना अनुसारको शासन सत्ता सञ्चालन हुने बताएका छन् ।
वाम गठवन्धनले संयुक्त रुपमा ताप्लेजुङको तोक्मे डाँडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको र त्यस पछि मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एवं उत्पीडितको हक अधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनल चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेको बताए ।
सचिव योगेश भट्टराईको चुनावी क्षेत्रलाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका अध्यक्ष ओलीले आफ्नो पार्टीका युवा नेता तथा केन्द्रीय सचिव योगेश भट्टराई भविष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गरी विजयी गराउन अनुरोध समेत गरे ।
‘योगेशलाई सांसद बनाएर पठाउनुहोस् मन्त्री बनाएर फर्काउने जिम्मा मेरो भो ।’ अध्यक्ष ओलीले भने । उनले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताए ।
सभालाई सम्बोधन गर्दै एमाले सचिव एवम् वाम गठबन्धनका उम्मेद्वार योगेश भट्टराईले अब एमाले र माओवादी केन्द्रले आगमी ५० बर्ष मुलुक चलाउने दाबी गरे ।
आइतबारदेखि पूर्वको ताप्लेजुङबाट शुरु भएको सभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुनेछ । एमाले र माओवादीको पार्टी एकताको सन्देश दिन र आगामी चुनावमा वाम गठवन्धनलाई जिताउन ताप्लेजुङ–दार्चुला अभियान शुरु गरिएको एमालेले जनाएको छ ।
अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले र माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।