विचार

रेखा थापाको ‘रुद्रपिया’ फ्ल्प भन्नेहरुलाई....

रेखा थापाको ‘रुद्रपिया’ फ्ल्प भन्नेहरुलाई....

गीता रसाइली

काठमाडौं । नेपाली फिल्मी दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी, अझ नारीवादी कलाकार भनेर चिनिएकी नायिका रेखा थापा आफ्नो प्रत्येक फिल्ममा केही न केही नयाँपन दिन खोज्छिन् । नारी पात्रलाई सशक्त भूमिकाको रुपमा प्रस्तुत गर्दै आएकी रेखा थापाले एसिड आक्रमणबाट पीडित महिलाको पीडालाई सम्बोधन गरी रुद्रप्रिया बनाएकी थिइन् ।

विदेशी चलचित्रबाट कपी गरेर बनाएको नेपाली फिल्म हेर्ने बानी परेका नेपाली दर्शकका लागि महिला हिंसाको एक आपराधिक रुप एसिड आक्रमणबाट पीडित महिलाको कथा वस्तुमा आधारित रुद्रप्रिया भने पचेन । वास्तवमा व्यापारिक रुपमा फस्टाउने उद्धेश्यका लागि मात्र होइन, आफ्नो फिल्म मार्फत समाजमा घट्ने घटनालाई सरोकारवालासम्म पु¥याउने कोशिश रुद्रप्रियाबाट गरिएको छ । रुद्रप्रियाको घुम्टो मात्र उतार्ने होइन, सबै एसिड आक्रमणमा परेका महिलाको घुम्टो उतार्ने उद्घोष रेखा थापाले गरेकी थिइन् ।

रेखाको शब्द सापटी लिदा रुद्रप्रिया हेर्दा दर्शकको हाँसो सस्तो पर्ने छैन, यदि दर्शकले हास्ँनु हुन्छ भने त्यसको हाँसो महंगो नै पर्छ । रुद्रप्रिया आँखाले हेर्ने मात्र होइन हेरेर अनुभूति गर्ने फिल्म हो । यसमा अहिलेको पुस्ताले चाहे जस्तो रोमान्टिक दृश्यहरु त्यति छैन । यसले गर्दा नयाँ पुस्ताले मन पराएनन् भन्ने तर्क पनि सुनियो । त्यसो हो भने के हाम्रो समाजमा घट्ने विभिन्न हिंसात्मक घटनाको चासो र चिन्ता नयाँ पुस्ताले लिन पदैन ? नयाँ पुस्ताको काम देश विग्रियो, यो देशमा युवालाई अवसर छैन भनेर गाली गर्ने मात्र काम हो ? यो फिल्मले मुद्धालाई उठाएको छ, यसलाई राम्रो पक्ष मान्नु पर्छ । सबै फिल्महरु रमाइलो गर्न र मज्जा लिनका लागि मात्र हुँदैनन् ।a

समाजमा घट्ने नकारात्मक घट्नालाई निरुत्साहित गर्न र फेरी यस्तो घट्ना समाजमा नघटोस् र यस्ता खाले पीडाबाट कोही पनि पीडित हुन नपरोस् भन्नका लागि पनि हुन्छ । यसकै लागि रुद्रपिया बाहिर आएको थियो । महिला वर्गलाई होच्याउने र महिलाको मान हानी हुने खालका फिल्म बन्यो भन्ने हल्ला सुनेको भरमा हाम्रा नारीवादी मित्रहरु आफ्नो संस्था वा संगठनमा छलफलको विषय बनाएर समुह नै बनाएर हलमा गएर टिकेट काटेर र्हेने अनि भोलिपल्टदेखि सामाजिक सञ्जालको भित्तामा लेख रचना लेख्न थाल्छन् । फलानो फिल्मले महिलाको आत्मसम्मानमा ठेस लाग्यो, नारी विरोधी फिल्म बन्यो आदि....... लेखहरु हामी पढ्न पाउँछौ ।

नारीवादी अभियन्ताहरुलाई मेरो प्रश्न, तपाईंले नारी विरोधी फिल्म बन्यो भनेर सामाजिक संजालको भित्तामा लेखिरहँदा नारीको पक्षमा बनेका फिल्महरुको समर्थन गर्नु के तपाईंको दायित्वमा पदैन ? यदि तपाईंले नारीको पक्षमा बनेका फिल्मको समर्थन गर्न सक्नुभएन भने नारीविरोधी फिल्म बन्यो भनेर वकालत गर्नुको कुनै अर्थ पनि छैन । किन कि तपाई हाम्रो सहयोग भएन भने नारीवादी फिल्म बनाउने रेखा थापा जस्ता फिल्मकर्मी निरास हुने छन् । महिलालाई साधनको रुपमा प्रयोग गरी हाँसोको पात्र बनाएर बजार लुट्नेहरु प्रोत्साहित हुनेछन ।

यसको अर्थ नारी मुक्ति आन्दोलन कमजोर हुनु हो र पुरुषप्रधान सामाजिक संरचनाले प्रश्रय पाउनु हो । आफ्नै देशमा, आफ्नो शहरमा, आफ्नै गाउँमा, आफ्नै स्कुलमा, आफ्नै घरमा आफ्नै भनिएकाहरुबाट छेरीहरु सुरक्षित नभएको देशमा छोरी मान्छेको रक्षा र आत्मबल बढाउनका लागि रुद्रप्रिया मार्फत रेखा थापाले कोशिस गरेको देखिन्छ । महिला मुक्तिको कुरा गरेर नथाक्ने तर बाहिर निस्केर दुई शब्द बोल्न वा लेख्नका लागि दाताको परियोजना कुरेर बस्नेहरुको भिडमा रेखा थापाले गरेको यो सबैभन्दा ठूलो र महत्वपूर्ण अभियान हो ।

एसिड् आक्रमण जस्तो गम्भीर विषयलाई फिल्मले सशक्त रुपमा उठाएको छ । रेखा थापा महिलामाथि चिन्तित र जिम्मेवार थिइनन् भने सायद यो रिक्स नउठाउन पनि सक्थिन् । दर्शक तान्नकै लागि मात्र हो भने उनका लागि प्रशस्त कथा वस्तु थिए होलान । मलाई लाग्दैन आफ्नो जीवनको आधा भन्दा बढी वर्षहरु नेपाली कला वा फिल्मी क्षेत्रमा खर्च गरेकी रेखा थापालाई अहिलेका दर्शकले कस्तो फिल्म चाहन्छन् भन्नेमा अनविज्ञ छन् । पोलमा बाँधेर मानिसको दिशा खुवाएर बोक्सीको आरोपमा दिउँसै मारिएकी लक्ष्मी परियारहरुले न्याय नपाएको देशमा न्यायालयबाट न्याय पाउने आशा गर्न सकिदैन थियो । त्यसैले रुद्रप्रियामा प्रयोग गरको न्यायको विधि ठीक थियो ।

यस कारण रुद्रप्रियाको भाव र मर्मलाई बुझ्ने प्रगतिशील कथावस्तु देख्नेहरु सबैले रुद्रप्रिया हेरे । यस कारण रेखा थापाको रुद्रप्रिया फल्प भयो भन्नेहरुलाई चेत भया, रुद्रप्रिया ५१ प्रतिशत नेपाली नारीहरुका लागि सुपरहिट फिल्म हो । रेखा दिदी हजुर निरास हुनु पर्ने केही कारण छैन । तपाईं दर्शकहरुप्रति खुशी हुनुहुन्छ भन्ने तपाईंले मिडिया मार्फत दिएका प्रतिकृयाले पनि बुझिन्छ । सम्पूर्ण नारीवादी अभियन्ताहरुको साथ सदैव हजुरले पाइरहनु हुने छ । एसिड् आक्रमणबाट पीडित संगीता पीडक जेलमा हँुदा पनि उनी डराइरहेकी छन् । संगिता बहिनी डर र त्रासमा होइन, हिम्मत, साहस र आत्मबलले जिउनुपर्छ । रेखा दिदीले रुद्रप्रियामा देखाए जस्तो हिम्मतको जरुरी संगीता बहिनीलाई छ ।

हामी सबै संगीताको बल बन्न जरुरी छ । रेखा थापाको हिम्मतले धेरै संगीताहरुलाई बाँच्ने साहस मिलेको छ । नेपाली फिल्मी दुनियाँमा लाग्ने सबै व्यक्ति व्यावसायिक रुपमा मात्र हेर्ने र दर्शक तान्नकै लागि मात्र भन्दा पनि समाज परिवर्तनका दृष्टिकोणले हेर्ने निर्माता वा फिल्मकर्मी पनि छन् भन्ने देखिन्छ । यो समाजमा धेरै रेखा थापाहरु जन्मन जरुरी छ । रेखा दिदी तपाईंको फिल्मी दुनियाँको यात्रा नरोकियोस्, तपार्इंलाई शुभकामना छ । तपाईंलाई सबैको साथ हुने छ ।

विशेष