मनोरञ्जन

मिस नेपाल निकिता चाण्डक बन्लिन् त विश्व सुन्दरी ?

‘हेड टु हेड च्यालेञ्ज’ मा दोस्रो स्थानमा पुगिन् निकिता चाण्डक

मिस नेपाल निकिता चाण्डक बन्लिन् त विश्व सुन्दरी ?

काठमाडौं । चीनको सान्या शहरमा यही नोभेम्बर १८ तारिखमा हुने विश्व सुन्दरी प्रतियोगितामा नेपालकोे तर्फबाट भाग लिन पुगेकी मिस नेपाल २०१७ की बिजेता निकिता चाण्डक महेश्वरीले दमदार उपस्थिति दिइरहेकी छन् । विश्व सुन्दरी प्रतियोगिताले यसै संस्करणबाट सुरु गरेको ‘हेड टु हेड च्यालेञ्ज’ मा कुल अंक प्राप्त गरेर उनी दोस्रो स्थानमा छिन् । उनलाई क्यामरुनकी एकोमो मिकाताले ५ प्वाइन्टले मात्रै जितेकी छन् । तर प्रखर अभिव्यक्तिका भने कार्यक्रम प्रस्तोता फ्रिकीले निकिताको प्रशस्त तारिफ गरेका थिए । उनको बोल्ने शैली र आत्मविश्वासको लेभलले प्रस्तोता प्रभावित बनेका थिए । हेड टु हेड च्यालेञ्जका निर्णायकले निकितालाई टपटेनमा देख्न आतुर रहेको बताएका थिए ।

कूल १ सय २० देशमध्ये फाइनलमा पुगेका ४० प्रतिस्पर्धीहरुबाट ग्रुप ३ मा नेपालसँगै बेल्जियम, क्यामरुन, गिनी, चिली र मदागास्कर रहेका छन् । यीमध्ये कसैले पनि विश्वसुन्दरी प्रतियोगिता जितेका छैनन् । हरेक ग्रुप बिजेताले अन्तिम प्रतिस्पर्धाका लागि स्थान बनाउनेछन् । निकिताले भने आफ्नो परिचयात्मक भिडियोले नै सबैको मन जितेकी छन् । उनको भिडियोमा स्वयम्भुनाथ र बौद्धका दृष्य समेटिएका छन् । उनले नेपाल सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको सन्देश दिने खालको भिडियो बनाएकी छन् ।

निकिताको जन्म सन १९९५ मा मोरङको उर्लाबारीमा एक सम्भ्रान्त मारवाडी परिवारमा भएको थियो । हाल उनी जेडी इन्स्टिचुट अफ फेसन टेक्नोलोजी बैंग्लुरुमा फेसन पढिरहेकी छन् । मारवाडीहरु भारतको राजस्थानबाट आएर नेपालमा व्यापार गर्ने हेतूले बसोबास गरिरहेका समुदाय हुन् । नेपालमा मारवाडीहरुको व्यापारिक योगदान उच्च छ । नेपालको कुनै पनि प्रतियोगितामा मारवाडीहरुले जितेको यो नै पहिलो प्रतियोगिता थियो, जुन अनेक विवादका बाबजुद निकिताले जितिन् ।

नीति शाहलाई सबैले मिस नेपालको रुपमा हेरिरहेको बेला आत्मविश्वासले भरिपूर्ण निकिताले मिस नेपालको ताज जितिन्, जसले सामाजिक सञ्जालमा खैलाबैलानै मच्चायो । धेरैले निकितालाई नीति शाहसँग दाँजेर हेरे । विशेष गरी सुन्दरता कम भएकी भनेर आलोचना नै भयो । तर हिडेन ट्रेजरले उनीभित्रको बौद्धिकता र आत्मविश्वासलाई उजागर गरेर मिस नेपालको ताज पहि-याईदियो । हल्ला गर्नेहरु गरिन ैरहे तर उनको लगातारको मेहनतले उनलाई यो स्थानसम्म ल्याइपु-याएको छ ।

विशेष