धेरैले भन्थे, ‘टास्कको बेला सुजनामाथि ‘माता’ चढ्छिन्’ (भिडियोसहित)
काठमाडौं । बाल्यअवस्थामा नै भारतीय टिभी रियालिटी सो ‘एमटिभी रोडिज’ हेरेर रमाउँथिन् तनहुँकी सुजना श्रेष्ठ । हेर्दाहेर्दै कल्पिन्थिन ‘एकदिन म पनि रोडिजमा जान्छु ।’ तर, भाग्यवश रोडिजमा भाग लिन भारतसम्म जानै परेन । नेपालमै इण्डियन रोडिजको फ्रान्चाइज हिमालय टेलिभिजनले लियो । अडिसन दिन तयार भएर काठमाडौं आइन् । अडिसनमा छनौट हुन ठूलै पापड बेल्नुपरेको थियो । ‘हजारौं मान्छेको भिडमा संवाद गर्नुपर्ने थियो । ‘त्यत्ति गाह्रो त रोडिजमा छनौट भएर ‘टास्क’ गर्नुपर्दा पनि भएको थिएन’ उनले भनिन् ।
यो भन्दा पहिला पनि सुजनाले मोटरसाइकल सम्बन्धी रियालिटी सो ‘पल्सर डेयर भेन्चर सिजन २’ मा सहभागी भइसकेकी थिइन । तर उनलाई चिनायो ‘हिमालय रोडिज’ले । यस्ता रियालिटी सोहरुमा भाग लिने उनलाई लत नै बसिसकेको छ । त्यही लतले रोडिजसम्म पनि ल्याइपुर्यायो । उनले रोडिजको उपाधि त जित्न सकिनन् । तर, उत्कृष्ट पाँचसम्म भने पर्न सफल भइन् । यस्ता रियालिटी सोको ‘प्यासन’ अझै छ उनमा । भन्छिन्, ‘बिग बोसको फ्रान्चाइज नेपालमा आएदेखि जाने इच्छा छ । तर, यदि आएन भने पनि अर्को वर्ष इण्डियन बिग बसमा जाने सपना छ ।’
सुजना मोटरसाइकल ‘स्टन्ट’ पनि गर्छिन् । कानूनी प्रावधान पूरा गरेर नै नेपालमा आफ्नै ‘स्टन्ट राइडिङ’ दर्ता गरेकी छिन् । सानोमा बाबुको सहायताले मोटरसाइकल चलाउन सिकिन् । पछि मोटरसाइकल चढेरमात्र पुगेन । रहरै रहरमा ‘स्टन्ट राइड’ गर्न थालिन । विभिन्न समारोहमा स्टन्ट देखाउन पुग्दा पुग्दै अहिले उनी ‘लेडी स्टन्ट राइडर’ को नाममा पनि चर्चित भइसकेकी छिन् ।
नेपालको पहिलो हिमालय रोडिजका विजेता धरानका समन श्रेष्ठ भए । त्यस्तैगरि दोस्रो उपाधि पोखराका अनिमेष शाहीले हासिल गरे । धेरैको चाहना अनिमेष रोडिज बनून् भन्ने थियो । सुजना पनि अनिमेषको पक्षमा थिइन् । तर अन्तिम ‘टास्क’मा समनले चमत्कार देखाए ।
सुजना भन्छिन्, ‘समनमा रोडिज हुने कुनै गुण देख्दिनँ । अनिमेषले टास्क सुरुमा गर्न तम्सिनु नै उसको भूल थियो ।’
सुजनाको वास्तविक स्वभाव जस्तो छ, रोडिजमा पनि त्यस्तै देखाएकी थिइन । तर धेरैले कमेन्ट गरे, ‘सुजनाले फेक क्यारेक्टर देखाइ ।’ उनी आफै भन्छिन्, ‘म त्यस्तो छैन । ममा रोडिजको यस्तो पागलपन छ कि टास्क गर्ने समयमा त्यस्तो रुप आफैँ आउँथ्यो । कतिले त यसलाई ‘माता’ चढ्यो पनि भन्ने गर्थे । तर, त्यो सबै रोडिजले सिर्जना गरेको पागलपन थियो ।’
त्यसो भए तपाईलाई फेक को लाग्थ्यो त ? उनले भनिन्, ‘त्यस्तो फेक मलाई समन नै लाग्थ्यो । बाहिर अर्कै भित्र अर्कै व्यवहार गर्ने ।’