खेल

नेपाली क्रिकेटका यी ‘अभागी’ खेलाडीहरु

मञ्जु मिश्र

नेपाली क्रिकेटका यी ‘अभागी’ खेलाडीहरु

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण पुस ४ गतेबाट सुरु हुने भएको छ । काठमाडौंमा सुरु हुने प्रतियोगितामा ६ टिमले १९ खेल खेल्नेछन् । यसअघि प्रतियोगिताका लागि खेलाडी अक्सन गरिएको थियो । अक्सनमा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिमका लागि किनेका थिए ।

अक्सनमा ‘ए’ क्याटागोरी अन्तर्गत राखिएका खेलाडीको मूल्य एक लाख रुपैयाँबाट सुरु थियो, तर लिलाम भएनन् । अक्सन ‘ए’ मा रहेका परेश लोहनी, अनिलकुमार मण्डल, अमृत भट्टराई, राहुल विश्वकर्मा र संजम रेग्मीलाई कुनै पनि टोलीले किनेनन् । यी सबै खेलाडीले नेपाली राष्ट्रिय टोलीबाट कुनै समय आफ्नो दमदार प्रदर्शन गरेका थिए ।

अनिल मण्डल

अनिल मण्डल लिस्ट ए क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर हुन् । उनले अन्तर्राष्ट्रिय टि ट्वान्टीमा करिब २१ को औसतले रन बनाएका छन् । केही समयसम्म नेपालको ओपनिङ अनिलकै हातमा थियो ।

राहुल विश्वकर्मा

डिभिजन ५ मा अमेरिकाविरुद्धको खेलमा राहुलले ७ विकेट र डिभिजन ४ मा तान्जानियाविरुद्ध ५ विकेट दिलाएका थिए । राहुल लेफ्ट आर्म अर्थडक्स स्पीनर हुन् । उनी जतिको बाँयाहाते क्रिकेटर नेपालमा जन्मिएकै छैनन् भन्दा पनि हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा बाँयाहाते क्रिकेटरको विशेष महत्व रहन्छ ।

परेश लोहनी

३७ वर्षीय परेश लोहनी नेपाली क्रिकेटमा लामो समय बिताएका र परिपक्व खेलाडी हुन् । उनले यूएई, पाकिस्तान र सिंगापुरविरुद्ध राम्रो प्रदर्शन दिलाएका थिए । लोहनीको अनुभवलाई जुनसुकै टिमले प्रयोग गर्न सक्थे तर अक्सनमा उनी बिक्री भएनन् । उनी एक जमानाका भरपर्दा अलराउण्डर पनि हुन् ।

अमृत भट्टराई

२६ वर्षीय देब्रे हाते अमृत भट्टराईले नेपालको तर्फबाट धेरै खेल खेलेका छैनन् । उनले २००५ मा सिंगापुरविरुद्धको खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए । तैपनि कुनै समय उनलाई नेपालले पत्याएकै हो । पृथु बाास्कोटा जस्तै अमृतलाई पनि अभागी खेलाडीको रुपमा उनका फ्यानहरुले लिन्छन् । जसले मौकाको सही सदुपयोग गर्न सकेनन् ।

संजम रेग्मी

३४ वर्षीय संजम पनि लामो अनुभव भएका नेपाली क्रिकेटर हुन् । उनले २००१ मा अन्डर नाइन्टिन विश्वकपसमेत खेलेका थिए । दायाँहाते ब्याट्सम्यान संजम अफ ब्रेक बलर पनि हुन् । यसअघि कलर्स यक्स फ्याक्टरका लागि खेले पनि यो पटक छनोटमा परेनन् ।

 

 

विशेष