मुख्य समाचार

बर्दियामा वामदेवमाथि अन्तर्घात ? मतान्तर झनै बढ्यो, को हुन् सञ्जयकुमार ?

बर्दियामा वामदेवमाथि अन्तर्घात ? मतान्तर झनै बढ्यो, को हुन् सञ्जयकुमार ?

बर्दिया । बर्दिया–१ मा एमाले उम्मेदवार बामदेव गौतम र कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमबीचको मत अन्तर बढ्दै छ । बढ्दो मत अन्तरसँगै एमाले उपाध्यक्ष बामदेव गौतम हार्ने विश्लेषण गर्न थालिएको छ । 

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेस सञ्जयकुमार गौतमले ३९ हजार ४ सय ४५ मत ल्याएका छन् । एमाले उपाध्यक्ष बामदेवले भने ३७ हजार एक सय ५५ मत मात्रै पाएका छन् । यो भनेको २२ सय ९० मतको अन्तर हो ।

यो क्षेत्रमा एमाले र माओवादी अधिक भएकाले बामदेवले जित्ने अनुमान गरिएको थियो । तर, कांग्रेस उम्मेदवार सञ्जय गौतमले मतान्तर बढाउँदै लगेकाले कतै वामदेवमाथि अन्तर्घात भएको त होइन ? अनुमानको विषय बन्दै गएको छ । बाम गठबन्धनका अधिकाँश शीर्ष नेता विजयी बन्दै गरेको अवस्थामा विगतदेखि नै एमाले र माओवादीबीच सहकार्य हुनुपर्ने धारणा राख्ने बामदेवको हार (?) लाई अचम्म मानिएको छ ।

को हुन् सञ्जयकुमार गौतम ?

नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति संजयकुमार गौतमको जन्म २०२० साल वैशाख १३ गते नेपालगञ्जको घरबारी टोलमा भएको हो । किशोरकुमार गौतम र रक्षा गौतमका छोरा सञ्जय गौतम अहिले बर्दियाको सदरमुकाम गुलरियामा बस्छन् ।

उज्यालो अनलाइनका अनुसार, लक्ष्मीप्रसाद मावि गुलरियाबाट एसएलसी पास गरेका गौतमले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । गौतमले २०३६–०३७ सालको आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका हुन् । पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति बनेका हुन् । सह–सचिव र सचिव गरेर सात वर्ष काम गरेका गौतम दुई कार्यकालदेखि बर्दिया कांग्रेसको सभापति रहेका छन् ।

पार्टी विभाजनका बेला संस्थापन पक्षमा रहेर सभापति भएका गौतम एकतापछि सर्वसम्मतिले सभापति बनेका थिए । ०३६–०३७ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा बिताएका गौतम ०६२–०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल परेका थिए ।

०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापति लडेका गौतम पाँच भोटले पराजित भएका थिए । उनी यसअघि पनि ०६४ सालमा उम्मेदवार बनेर पराजित भएका थिए । तर २०७० सालको चुनावमा भने भने उनी ११ हजार ६ सय मत सहित विजयी बनेका थिए । उनी २०७४ सालको साउनदेखि सिँचाइ मन्त्री छन् ।

 

विशेष