विराट अनुष्काको विवाह दुई दिन पछि, क–कसलाई गरे निम्ता
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको विहेको चर्चा उत्कर्षमा छ । खबर अनुसार यसै महिना उनीहरु पति–पत्नी बन्ने छन् ।
सूत्रका अनुसार कोहलीले बिहेमा धेरै व्यक्तिहरुलाई निमन्त्रणा दिएका छैनन् । उनका केही खास साथीहरु र परिवारका सदस्य मात्रै वैवाहिक समारोहमा उपस्थित हुने बताइएको छ ।
भारतीय क्रिकेट टिम १० डिसेम्बरबाट श्रीलंकाविरुद्ध वान डे सिरिजमा व्यस्त रहनेछ । यस्तोमा टिमका कुनै पनि खेलाडी बिराटको बिहेमा उपस्थित हुने सम्भावना झिनो छ । यद्यपि, बिराटले सचिन तेन्दुलकर युवराज सिंहलाई आफ्नो बिहेमा उपस्थित हुन निम्तो दिएका छन् । यसका अलावा उनले आफ्नो बाल्यकालका कोच राजकुमार शर्मालाई पनि डाकेका छन् ।
यता अनुष्काले पनि आफ्ना केही छिमेकी, आफन्त र साथीभाईलाई बिहेको निम्तो दिइसकेको बुझिएको छ । उनले बलिउडका सिमित साथीहरुलाई मात्र बोलाएकी छिन् । उनको निमन्त्रणा सुचीमा शाहरुख खान, आमिर खान, आदित्य चोपडा, करण जौहर, रणवीर कपूर, कट्रिना कैफ र मनीष शर्मालाई बोलाएकी छन् । तर सुपरस्टार सलमान खानलाई भने अनुष्काले बोलाएकी छैनन् ।
अहिले बिराट र अनुष्का दुवैले आआफ्नो कामबाट छुट्टी लिएका छन् र उनीहरु परिवारसहित इटालीतिर लागेका छन् । बिहिबार अनुष्का आफ्नो परिवारका साथ स्विस एयरवेजको फ्लाइटमा र बिराट दिल्लीबाट उडेका हुन् । इटालीमा नै १२ डिसेम्बरमा उनीहरुले बिहे गर्ने अनुमान गरिएको छ । यद्यपि, अनुष्का र बिराट दुवैले बिहेको औपचारिक पुष्टि गरेका छैनन् ।
बिराट र अनुष्का विगत ४ वर्षदेखि डेट गरिरहेका छन् । यसअघि पनि पटक-पटक उनीहरुले बिहे गर्ने चर्चा चलेका थिए, तर ती चर्चा असत्य सावित भए