यी हुन् कृषि विकास बैंकका धमिराहरु, मुख्य शाखा प्रबन्धकसहित तीन पक्राउ
काठमाडौं । कृषि बिकास बैंक लिमिटेड रामशाहपथ काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु-याउने उद्देश्यका साथमा बैंकको मौज्दात रकम करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरुमा कृषि विकास बैंक मुख्य शाखा न्यूरोडका का.मु. मुख्य शाखा प्रवन्धक काठमाडौं महानगरपालिका–३२ वस्ने रामेछापको रामेछाप नगरपालिका–८ का ४७ वर्षीय प्रेमहरि ढुङगेल, सोही मुख्य शाखाका इसिसी प्रमुख काठमाडौंको टोखा नगरपालिका–८ ग्रिनल्याण्ड बस्ने गोरखाको पालुङटार–४ का ५६ वर्षीय गोपाल गिरी र सोही मुख्य शाखाका कर्जा प्रमुख काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने गोरखाको बक्राङ–२ का ३९ वर्षीय महेश्वर मरहट्टा रहेका छन् ।
प्रतिबादी दिपीका रेग्मी समेत भएको वैंकिङ कसुर मुद्धाको अनुसन्धानको क्रममा पक्राउ परेका दिपीकाको बयानबाट बैंकको उक्त शाखामा अनियमितता गर्ने कार्यमा संलग्न रहेको खुलेका उनीहरुको खोजतलास गर्दै जाने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजको प्रहरीले काठमाडौं न्यूरोडबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।
बिभिन्न ब्यक्ति वा संस्थाले बिभिन्न बैंकको चेकमार्फत उक्त बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक्स चेक क्लियरेन्स (इसिसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरेपछि सोही चेकलाई प्रयोग गरी पुनः कोर बैंकिङ सिष्टमबाट गैरकानूनी रुपमा दिपीका रेग्मी तथा आफन्तको नाममा जम्मा गरी प्रतिवादीहरु प्रेमहरि, गोपाल र महेश्वर समेतले रकम हिनमिना गरि बैंकलाई नोक्सान पु-याएको हालसम्मको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ प्रतिवादीका सम्बन्धमा उच्च अदालत पाटनबाट सोमबार ७ दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।