मुख्य समाचार

देउवाले यसरी जोगाए आफ्नो किल्ला

देउवाले यसरी जोगाए आफ्नो किल्ला

काठमाडौं । अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ देखिको आफ्नो किल्ला जोगाउन सफल भएका छन् । ७२ वर्षीय देउवाले २८ हजार ४४ मतसहित अपराजित यात्रा कायम राखे । प्रतिनिधिसभा सदस्यमा छैटौं पटक जित हात पारेका उनले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई ६ हजार ९ सय २९ मतान्तरले हराए । भट्टले २१ हजार एक सय १५ मत पाएका थिए ।

देउवालाई गृह जिल्लाबाट चुनाव जित्न जम्मा दुई पटक केही कठिन अवस्था आइपर्‍यो । पहिलो संविधानसभा निर्वाचन, ०६४ र अहिले । ०४८, ०५१ र ०५६ मा भने उनले सहजै जित हात मात्र पारेनन्, देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजयी हुने नेता बन्ने अवसर पाए । ०४८ को आम निर्वाचनमा त उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत पाएका थिए ।

 किन हार्दैनन् देउवा ?

विद्यार्थी जीवनमै उच्च शिक्षा अध्ययनका सिलसिलामा डडेलधुराको असिग्राम रुवाखोलाबाट राजधानी छिरेका देउवा ०४८ मा मात्र चुनाव लड्न गृहजिल्ला आएका थिए । ‘शेरबहादुर देउवा पञ्चायतकालमा जिल्लाभर चर्चित नाम थियो तर भौतिक रूपमा उनलाई देख्ने विरलै थिए । उनी पञ्चायत व्यवस्थाविरुद्ध लडेको र जेल परेका कुराहरू पुग्थे गाउँघरमा । देउवा कस्तो होला भन्ने धेरैमा जिज्ञासा हुन्थ्यो,’ स्थानीय देवराज जोशी पण्डितले भने, ‘त्यसैले उनीप्रति एउटा पिढीको आकर्षण रहँदै आयो । अहिले तेस्रो पुस्तासम्म पनि देउवाको आकर्षण सकिएको छैन । अपराजित यात्रामा उनलाई त्यही व्यक्तित्वको लाभ प्राप्त भइरहेको छ ।’

विगतको प्रतिस्पर्धा

डडेलधुरा प्रजातन्त्रका लागि योद्धा जन्माउँदै आएको जिल्ला हो । भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौतजस्ता प्रजातन्त्रका सेनानीकै उत्तराधिकारीका रूपमा आफ्नो छाप पारेका छन् जिल्लावासीमाझ देउवाले । ०३६ को जनमतसंग्रहमा डडेलधुराबाट बहुदलको विजय भएको थियो । ०४२ को बमकाण्डमा देउवाको नाम पनि चर्चित भएको थियो । ०५१ को मध्यावधि चुनावमा राष्ट्रिय जनमोर्चाका खेमराज भट्ट ‘मायालु’ देउवाका लागि चुनौती बने । ‘मायालु’ एमाले प्रवेश गरे आफूलाई सधैं अप्ठेरो पर्न सक्ने देखेर देउवाले उनलाई ०५६ मा कांग्रेस भित्र्याए र बर्दियाबाट चुनाव जिताए ।

प्रधानमन्त्री देउवालाई जित्न अति नै कठिन बन्यो ०६४ को संविधानसभा निर्वाचन । माओवादी जनयुद्धकालमा यस क्षेत्रका चर्चित नेता खगराज भट्टसँग उनले प्रतिस्पर्धा गर्नुपर्‍यो । करिब १३ सय मतान्तरले चुनाव जिते । देशैभर माओवादी लहर आएका बेला उनले व्यक्तित्वकै कारण हार बेहोर्नुपरेन ।

यस पटक पनि भट्ट नै मैदानमा ओर्लिए । वाम गठबन्धनका उम्मेदवार भएकाले केही सहज भए पनि देउवाका अगाडि भट्टको केही लागेन । ‘राष्ट्रिय जनलहरसँगै वाम गठबन्धनको राम्रो प्रभाव थियो,’ माओवादीका जिल्ला संयोजक हरि मालले भने, ‘जित्ने आशा हामीले धेरै गरेका थियौं । बहालवाला प्रधानमन्त्रीको २७ वर्षे विरासत तोडेर इतिहास रच्ने आसमा थियौं ।’

उपगुटको व्यवस्थापन

पार्टीको आन्तरिक चुनावमा देउवाका दुई गुट देखा परे डडेलधुरामा । पार्टी सभापति कर्णबहादुर मल्ल र रघुवर भट्टको । दुवै जना पार्टी सभापति पदमा चुनाव लडेका थिए । प्रधानमन्त्री देउवा–पत्नी आरुजु राणा देउवाले रघुवर भट्टलाई सभापति बनाउन चाहेकी थिइन् । राणाको चाहनाविपरीत उम्मेदवारी दिएपछि देउवा क्याम्पबाट मल्ल बाहिरिए । कार्यकर्ता स्पष्ट दुई गुटमा विभाजन भएको असर स्थानीय तह निर्वाचनमा देखा पर्‍यो ।

‘वाम गठबन्धन नभएको भए मल्ल र रघुवरको गुट मिल्दैन्थ्यो,’ जिल्लामा कांग्रेसको आन्तरिक कलहबारे जानकार पदम झुकालले भने, ‘पार्टी सभापति मल्लको जिल्लामा कमान्ड राम्रो भए पनि आरुजुका कारण देउवासँगको पहुँचमा भट्ट समूह थियो । जसको कारण जिल्ला कार्यसमितिले सिफारिस गरेका स्थानीय तहका उम्मेदवारलाई टिकट दिइएन ।’

उनका अनुसार एमाले–माओवादी केन्द्र गठबन्धन भएपछि देउवालाई चुनाव जित्न हम्मे पर्ने अवस्था बन्यो । त्यसैले उनले मल्ललाई साथ लिन जरुरी थियो । देउवाले मल्ललाई प्रदेश ‘ख’ को टिकट दिएर गुट व्यवस्थापन गरे । ‘देउवाप्रति जिल्लावासीमा अगाध विश्वास र आशा छ,’ स्थानीय शिक्षक मनोहर पन्तले भने, ‘राष्ट्रिय राजनीतिको भूमिकामा बस्ने एक मात्र पात्रका रूपमा देउवाप्रतिको भरोसा अरूले लिन सक्दैन । यही कारण मतदाताले देउवालाई हराउन चाहेनन्  ।  त्यसो त प्रदेश ‘क’ मा वामपन्थी उम्मेदवार पठानसिंह बोहराले जिते । ‘ख’ मा भने मल्लले नै साढे ३ सय मतान्तरले जित हात पारे ।

 कान्तिपुर 

विशेष