खेल

म्यानमार मात्र १३ रनमै अलआउट, नेपाल समुह बिजेता हुँदै सेमीफाइनल प्रवेश

म्यानमार मात्र १३ रनमै अलआउट, नेपाल समुह बिजेता हुँदै सेमीफाइनल प्रवेश

म्यानमारलाई मात्र १३ रनमै अलआउट गरेपछि नेपालले एसीसी यु-१६  इस्टर्न रिजन प्रतियोगितामा ३३७ रनको बिशाल जित दर्ता गरेको छ।

टस जितेर टेर्ड थाई मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित ३५ ओभरमा बनाएको ३५० रनको जवाफमा ब्याटिंग गरेको म्यानमारले कम्जोर ब्याटिंग गर्दै ११.३ ओभरमा १३ रन बनाउदा सबै विकेट गुमेको थियो।

म्यानमारलाई लज्जास्पद स्कोरमा समेट्न नेपाली बलर नारायण जोशी र मेख बहादुर सेनले ४/४ विकेट हात पारेका थिए। नारायणले ३ ओभरमा २ मेडन ओभर सहित मात्र १ रन खर्चिए भने मेखले ३ ओभरमा ४ रन दिए।

म्यानमारको लागि १० औं नम्बरमा ब्याटिंग गरेका हिन टेट अंगले १८ बल खेलेर बनाएको ३ रन सर्बाधिक स्कोर बनेको थियो। ७ जना म्यानमार ब्याट्सम्यानहरु खाता समेत खोल्न सकेनन् भने अन्य ३ जना ब्याट्सम्यानहरु ले १ रन मात्रै बनाउन सके। नेपालले ६ वटा वाइड र एउटा लेग बाईको रुपमा जम्मा दिएको ७ अतिरिक्त रन म्यानमारको स्कोरमा ठुलो योगदान बन्यो।

दोहोरियो इतिहास 

सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई २ बलमै पराजित गर्दै दुर्लभ नतिजा हात पारेको थियो। उक्त खेलमा म्यानमारले पहिले ब्याटिंग गर्दै १२.१ ओभरमा १० रन मात्रै बनाएको थियो जुन लक्ष नेपालले २ बलमै भेटाएको थियो।

त्यस खेलमा नेपालको लागि मेहबुब आलम ७ विकेट तथा बिनोद दासले ३ विकेट हात पारेका थिए। आलमले ६.१ ओभरमा ३ मेडन ओभर सहित मात्र ३ रन खर्चिएका थिए भने बिनोद दासले ६ ओभरमा २ मेडन ओभर सहित मात्र ४ रन खर्चिएका थिए। म्यानमारका ६ जना ब्याट्सम्यानहरुले खाता खोल्न सकेका थिएनन् भने ५ जना ब्याट्सम्यानले १ रनको स्कोर बनाएका थिए । नेपालले २ वाईड र ३ लेग बाईको रुपमा ५ रन अतिरिक्तको रुपमा दिएको थियो।

रितको शतकमा नेपालको बिशाल स्कोर 

यस अघि कप्तान रित गौतमले शतक तथा प्रतिस जिसी र तृत राज दासले विस्फोटक इनिंग खेलेपछि नेपालले ३५१ रनको बिशाल योगफल तयार पारेको थियो।

प्रतियोगिताकै र व्यक्तिगत पहिलो शतक प्रहार गरेका रितले अविजित १०६ रन बनाए जसको लागि उनले मात्र ७८ बलमा १२ चौका प्रहार गरेका थिए। तृत दासले ३ चका र ७ चौका प्रहार गर्दै ६४ रनको विस्फोटक इनिंग खेलेका थिए। यस्तै प्रतिस जिसीले पनि मात्र ३१ बलमा १० चौका र १ छक्का मदतल ६३ रन बनाउदै नट आउट रहे।

नेपालले सुरुवात देखि आक्रामक ब्याटिंग गरेको थियो। ओपनर कुशल मल्लले ३ छक्का र ३ चौका प्रहार गर्दै ३६ रनको इनिंग खेल्दै नेपाललाई उत्कृस्ट सुरुवात दिलाएका थिए। अर्का ओपनर सुवास ऐयरल १७ रन योगदान दिंदा पहिलो विकेटको लागि कुशल र सुबासले ५४ रनको साझेदारी गरेका थिए।

 

रित गौतम र बिशाल बिक्रम केसीले तेश्रो विकेटको लागि ७० रनको साझेदारी गरे। बिशाल ४२ रन ( ३२ बल, ७ चौका ) बनाएर आउट भए। बिशालको विकेट पछि कप्तान रित र तृत राज दासले चौथो विकेटको लागि ९९ रनको साझेदारी गरेका थिए। तृत आउट भएपछि नारायण जोशी ( ० ) र अमित कुमार यादब ( ० ) ले लगातार विकेट गुमाएका थिए।

छैठौं विकेट गुमेपछि ब्याटिंग गर्न आएका प्रतिस जिसी र रित गौतमले सातौ विकेटकको लागि अविजित ११२ रनको साझेदारी गर्दै नेपाललाई बिशाल स्कोर तर्फ डोर्याएका थिए।

निकै महंगा साबित भएका म्यानमार बलरको तर्फबाट हेन औंगले सर्बाधिक ३ विकेट लिने क्रममा ७ ओभरमा ७० रन खर्चिएका थिए। यस्तै  क्याउ मिन, ए मोए र फ्यो ओले १/१ विकेट हात पारे। 

नेपाल समुह बिजेता हुँदै सेमीफाइनल प्रवेश 

समुह ‘ए’ अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा जित हात पार्दै समुह बिजेताको रुपमा नेपाल सेमीफाइनल प्रवेश गरेको छ। थाईल्याण्डलाई १३३ रनले, हंगकंगलाई ४ विकेटले पराजित गरेको नेपालले सेमीफाइनलमा डिसेम्बर १६ शनिबार समुह ‘बि’ को उपविजेता मलेसियाको समान गर्नेछ। दोश्रो सेमीफाइनल सोहि दिन हंगकंगले सिंगापुरको सामना गर्नेछ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ आइतबार खेलिनेछ।

विशेष