स्वास्थ्य

यी हुन् स्वास्थ्य सेवाका नाममा ठग्ने ठूला अस्पताल

यी हुन् स्वास्थ्य सेवाका नाममा ठग्ने ठूला अस्पताल

काठमाडौं।  राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ । जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँचदेखि १० प्रतिशतसम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको हो ।  

बिरामीको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था विभागले गरेको अनुगमनका क्रममा राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्वार्कोमा रहेको बी एन्ड बी र बाँसबारीस्थित न्युरो अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम सेवाशुल्कका नाममा उठाउने गरेको पाइएको हो ।   आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जनता र राज्यले विश्वास गरेका ठूला अस्पतालले गरिब बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुलेर ठग्ने गरेको फेला परेको जानकारी दिए । दाहालले भने, ‘अस्पतालबाट सरकारले पाँच प्रतिशत मात्रै स्वास्थ्य सेवा कर लिने गरेको छ । तर, यी अस्पतालले १३ प्रतिशतसम्म कर असुलेको पाएका छौँ । यो गैरकानुनी कार्य हो ।    

करका नाममा ठगी  

ग्रान्डी, बी एन्ड बी र न्युरो अस्पतालले करका नाममा मोटो रकम ठगी गर्दासमेत स्वास्थ्य क्षेत्रका सम्बन्धित निकाय मौन बसेको भन्दै दाहालले आपत्ति जनाए । दाहालले भने, ‘उपचारका लागि अस्पताल पुग्ने बिरामी जीवन र मरणको दोसाँधमा हुन्छन्, तर अस्पतालले सेवा दिनुको साटो बिरामीबाट १३ प्रतिशतसम्म गैरकानुनी रूपमा कर उठाइरहेका छन् । यस्ता अस्पताललाई कारबाही गर्नुको विकल्प छैन ।’ दाहालले कुनै पनि बहानामा अस्पतालहरूले बिरामीसँग १३ प्रतिशत कर लिन नपाउने बताए ।  

ठग्ने आ–आफ्नै शैली  

बिरामीलाई ठग्ने शैली अस्पतालका फरक–फरक पाइएकोे महानिर्देशक दाहालले बताए । उनले नयाँ पत्रिकासँग भने, ‘हामी संकलित बिलहरू अध्ययन गर्दै छौँ । अहिलेसम्म हेर्दा अस्पतालअनुसार ठग्ने शैली फरक–फरक पाइएको छ । केही अस्पतालले बेड चार्जमा मोटो रकम असुलेका छन् भने, केहीले डाक्टरले लिने शुल्कमा पाँचदेखि १० प्रतिशतसम्म रकम जोडेर लिएका छन् ।’ न्युरो अस्पताल बाँसबारीले उपचार खर्चमा १० प्रतिशत जोडेर शुल्क असुल्ने गरेको बिलमा देखिएको दहालले बताए ।   अ

स्पतालका सञ्चालकहरूले भने अनुगमन टोलीलाई अस्पताल सञ्चालन गर्दा मोटो रकम खर्च हुने भएकाले त्यसकै आधारमा बिरामीसँग शुल्क लिने गरेको बताएका छन् । अस्पताल सञ्चालकहरूको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘हामीले ठूलो रकम लगानी गरेर अस्पताल सञ्चालन गरेका छौँ । गुणस्तरीय सेवा प्रदान गरेका छौँ । हामीले केही बढी रकम नलिए सेवा–सुविधा राम्रो दिन सकिँदैन ।’ आफ्नो ठगीलाई ढाकछोप गर्न अस्पताल सञ्चालकहरूले गरेको तर्कलाई जायज मान्न नसकिने दाहालले बताए । दहालले भने, ‘बाँसबारीस्थित न्युरो अस्पतालले १० प्रतिशत ट्याक्स गैरकानुनी रूपमा बिरामीसँग असुल्ने गरेको रहेछ । त्यहाँका बिल हामीले लिएर आएका छौँ । अध्ययनपछि कानुनअनुसार कारबाही अगाडि बढाउनेछौँ ।’ १० प्रतिशतभन्दा बढी शुल्क लिनुको कारण स्पष्ट खुलाउन तीन दिनको समय दिएको पनि दाहालले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विशेष