खेल

आर्मीलाई पराजित गर्दै मनाङले जित्यो दुहबी गोल्डकपको उपाधी

आर्मीलाई पराजित गर्दै मनाङले जित्यो दुहबी गोल्डकपको उपाधी

सुनसरी ।  विभागीय टिम नेपाल आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौंको मनाङ मर्स्याङ्दी क्लबले सुनसरीको दुहबीमा सञ्चालित दोस्रो मनमोहन दुहबी गोल्डकपको उपाधी जितेको छ।

उपाधीसँगै मनाङले गत वर्ष पहिलो संस्करणमा आर्मीसंग ब्यहोरेको हारको बदलासमेत लिएको छ। गत वर्ष मनाङलाई सडन डेथमा १–० ले पराजित गर्दै आर्मीले उपाधी जितेको थियो। शनिबार स्थानीय दुहबी रंगशालामा सम्पन्न फाइनल खेलमा मनाङलाई उपाधी दिलाउन विशाल राई र विमल राणाले गोल गरे। आर्मीका लागि एकमात्र गोल नवयुग श्रेष्ठले गरे। खेलको १७ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेट बित्न नपाउदै मनाङका विशाल राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ एक एक गोलको बराबरीमा टुंगिएको थियो। दोस्रो हाफ सुरु भएको १४ औं मिनेटमा मनाङका विमल राणाको प्रहारले जाली चुमेपछि मनाङको जित निश्चित भएको हो। दोस्रो हाफमा आर्मीले केही गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा उपबिजेतामै चित्त बुझाउन बाध्य भयो। ८८ औं मिनेटमा आर्मीका सन्तोष तामाङले प्रहार गरेको बल गोलपोष्टमा लागेर बाहिरिनु नै आर्मीका लागि दुर्भाग्य बन्यो। बिजेता मनाङले नगद ४ लाख र उपबिजेता आर्मीले २ लाख रुपैयाँ पाएका छन्।

गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठ घोषित भए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। मनाङका विशाल राई फाइनल खेलको म्यान अफ द म्याच घोषित भए भने सर्वाधिक गोलकर्ता भने आर्मीका नवयुग श्रेष्ठ भए। उनीहरुले जनही १० हजार रुपैयाँ पाए। गत मंसिर २३ गते सुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजनका ८ टिमको सहभागिता रहेको थियो।

विशेष