ईपिएलको उद्घाटन खेलमा ललितपुर पेट्रियट्स् विजयी
ललितपुर पेट्रियट्स् एभरेस्ट प्रिमियर लिग ईपिएल टि २० क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा ललितपुर पेट्रियट्स्ले काठमाडौँ किङ्गस् एलेभेनलाई ७ विकेटले पराजित गरेको थियो ।
पहिलो ब्याटिङ्ग गरेको काठमाडौं किङ्गस्ले १८.३ ओभरमा ८९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । काठमाडौँका शुरुआती ब्याट्स् म्यान अमित श्रेष्ठले सर्वाधिक २७ बनाएका थिए । ललितपुर पेट्रियट्स्का सागर भाटिले सर्वाधिक ४ विकेट लिएका थिए । ९० रनको विजयी लक्ष्ये काठमाडौँ किङ्गस् एलेभेनले १६.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो ।
ललितपुर पेट्रियट्स्का भारतीय खेलाडी जयकिशन कोल्शावालाले सर्वाधिक ४४ रनको योगदान गरेका थिए । काठमाडौँ किङ्गस्को कप्तानी शोमपाल कामीले गरेका थिए भने ललितपुर पेट्रियट्स्को कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए ।
यस प्रतियोगिता भारतीय ईन्डियन प्रिमियर लिग ई पि यल को ढाँचामा खेलाईएको छ । मंगलबारको पहिलो खेल चितवन टाईगर्स र पोखरा राईनोज तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर पेट्रियट्स्काबीच हुनेछ ।
यसैबीच, जारी ई पि यलका लागि विराटनगर वारियर्सले पारस खड्काको कप्तानीमा सोमबार १५ जना खेलाडीको घोषणा गरेको छ । विराटनगर वारियर्सको उपकप्तान वसन्त रेग्मी रहेका छन् ।
यसैगरी, टोलीमा हङकङका कप्तान बब र हायात र अर्का खेलाडी अन्शुमन रथ पनि समावेश गरिएको छ । विराटनगर वारियर्सको प्रायोजन एन.आई.सी. एशिया बैङ्क, स्निकर्स र हाईलाईफ फुटवेयरले गरेका छन् ।