समाज

स्कूल नगई-नगई जाँडको व्यापार

स्कूल नगई-नगई जाँडको व्यापार

भोजपुर । दक्षिणी भोजपुरको हतुवागढी गाउँपालिका–९ की रमिता राई १० वर्षकी भइन् । दुई दाजु र तीन दिदीबहिनीमध्ये कान्छी उनी चार कक्षामा पढ्छिन् । तर, प्रायः विद्यालय जाँदिनन् । रमिता धेरैजसो छिमेकी जिल्ला उदयपुरसँग जोडिएका दूधकोशी र आमचोक गाउँपालिकाको सिमानामा पर्ने एखावाखोलाको दोभानमा भेटिन्छिन् ।

यहाँ उनका बुवा–आमा जाँड व्यापार गर्छन् । दुई कक्षा पढ्दादेखि बुवा–आमालाई जाँड बनाउन सघाइरहेकी रमिता अहिले उहाँहरूले नभ्याउँदा जाँड बनाउने, छान्ने र बेच्ने काम आफैं गर्छिन् ।

दक्षिणी भेगका दुम्माना, देवान्टार, पावला, पाँचा र हसनपुरको केन्द्र हो, एखावाखोला दोभान । दिनहुँ बटुवा यो बाटो ओहोरदोहोर गर्छन् । उनीहरू दोभानमा रोकिएर थकाइ मार्ने मेलो बन्छ– रमिताका बुवा–आमाले बनाउने त्यही जाँड । एक बटुको जाँड २० रुपैयाँमा बेचेर रमिताका बुवा–आमा दिनभरमा दुई हजार रुपैयाँसम्मको कारोबार गर्छन् । त्यसबाटै रमिता, उनका दाजु र दिदीहरूको लालनपालन, पढाइखर्च जोहो हुन्छ । रमिता भन्छिन्, “बुवा–आमाको काम देखेर मैले पनि सिकें । अब आफैं जाँड बनाएर पनि बेच्न सक्छु ।”

सदरमुकाम भोजपुरबाट दुई दिन पैदल हिंडेपछि पुगिन्छ, बालंखा बजार । बालंखा दक्षिणी भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र हो । सदरमुकामबाट १६ कोस टाढा पर्ने बालंखामा प्रत्येक शुक्रबार हाट लाग्छ । त्यस दिन यहाँका होटल र घरहरूमा जाँड र रक्सीको व्यापार थेगिनसक्नु हुन्छ । बिहानदेखि राति अबेरसम्म ग्राहकको भीडभाड हुन्छ होटलमा । ११ वर्षीया रञ्जिता राई त्यही भीडभाडमा भेटिन्छिन् । ग्राहकलाई जाँड बनाएर दिने, भाँडाबाट रक्सी सारिदिने र सितन बनाइदिने काम गर्छिन्, उनी ।रञ्जिताको घर खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा पर्छ । बालंखामा उनी सानिमाको घरमा बस्छिन् । स्थानीय विद्यालयमा तीन कक्षामा पढिरहेकी रञ्जिताले यता आएपछि पढाइ पनि छाडिन् । उनले घर छाडेर हिंड्नुको कारण रहेछ– जाँडरक्सीको व्यापार । रञ्जिताको घरमा उनीभन्दा एक वर्ष जेठा दाजु, ८ र ५ वर्षीया बहिनी तथा तीन वर्षको भाइ छन् ।

जाँडरक्सी बनाएर बेच्नु बाआमाको मुख्य पेशा । दाजुपछि घरकी जेठी सन्तान भएकाले बुवा–आमाले उनलाई पनि जाँडरक्सी बनाउन लगाउँदा रहेछन् । “घरमा जाँडरक्सी मात्र बनाएर बस्नुपथ्र्यो, दिक्क लागेर सानिमाकोमा आएँ, अनि त पढ्न पनि छाडिदिएँ” रञ्जिता भन्छिन्, “सानिमालाई जाँडरक्सी बनाउन चाहिं सघाउँछु, तर यहाँ घरमा जस्तो किचकिच छैन ।”

१४ वर्षीया संगीना राईको घर हतुवागढी गाउँपालिका वडा नम्बर २ मा पर्छ । ६ कक्षामा पढिरहेकी संगीनाको मुख्य काम आमालाई जाँडरक्सी बनाउन र बेच्न सघाउनु हो । स्कूल नगएको बेला धेरैजसो समय उनी आमासँगै बसेर जाँडरक्सी बनाउँछिन् । संगीनाका बुवा सानैमा बिते । घरमा कमाउने कोही छैन । दुई छोरी हुर्काउन आमाले जाँडरक्सी बेच्न थालेकी हुन् । हिजोआज संगीना र उनकी बहिनी दिनहुँ दाउरा जोहो गर्न वनजंगल जान्छन् । आमालाई सघाउँदा सघाउँदा अब उनीहरू आफैं जाँडरक्सी बनाएर बेच्न सक्ने भएकी छन् । संगीना भन्छिन्, “बुवा हुनुभएको भए, यसरी दुःख गर्नुपर्ने थिएन होला, के गर्नु आमालाई सघाउनै प¥यो ।” जाँडरक्सी बेचेर महीनामा दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाउँछन् उनीहरू । त्यही कमाइबाट घर खर्च गरेर कापीकलम र स्कूल ड्रेसको पनि जोहो गर्नुपर्छ ।

खबर खोजपत्रकारीताका लागि भोजपुरबाट विद्या राईकाे रिपाेर्ट

विशेष