मुख्य समाचार

देहव्यापारमा कलिला बालिका : सरकार रमिते

देहव्यापारमा कलिला बालिका : सरकार रमिते

काठमाडौं । माइती नेपालका कर्मचारीहरूले धेरै सोधीखोजी गरेपछि थाहा भो– उनी काठमाडौंको नयाँ बसपार्क गोंगबु क्षेत्रको होटलमा काम गर्थिन् । अविवाहित उनी त्यही होटलमा काम गर्ने क्रममा गर्भवती भएकी रहिछन् । उनलाई बच्चा जन्माउन माइती नेपालमै पठाइनुको रहस्य पछि उनी आफैंले खोलिन्– “बच्चा जन्माएपछि दुई लाख दिने भन्ने कुरा भएको थियो ।” माइती नेपालकी वरिष्ठ कानून अधिकृत उमा तामाङका भनाइमा, “नयाँ बसपार्क वरपरका होटलमा उनी यौन व्यवसाय गर्थिन् । ग्राहकसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएर असजिलो अवस्थामा पुगेपछि गौशाला प्रहरीले माइती नेपालमा ल्याइदिएको थियो ।”

१९ जेठ २०७४ मा माइती नेपालमा आइपुगेकी उनले एक महीनापछि बच्चा जन्माइन् । त्यसपछि थाहा भो– उनको घर तनहुँ रहेछ । कामको खोजीमा घरबाट भागेर काठमाडौं आएकी रहिछन् । घरपरिवार भएको थाहा भएपछि माइती नेपालले उनलाई ५ भदौमा घर पठाइदियो ।

योभन्दा दर्दनाक अर्को कथा छ । २०७४ मंसीर पहिलो साताको कुरा हो । काठमाडौंको कलंकीमा रहेको गैरसरकारी संस्था ‘चेन्ज नेपाल’ की स्टाफ नर्स अनु विष्टले फिल्डमा जाँदा एक होटलमा भर्खरकी सुत्केरी बालिका भेटिन् । अनु होटल, रेस्टुरेन्ट, खाजाघरहरूमा काम गर्ने बालिका–किशोरीहरूको स्वास्थ्य अवस्था परीक्षण गर्ने काम गर्छिन् । अनुले भनिन्, “तिनको उमेर १५-१६ भन्दा बढी थिएन । कलंकीको एउटा रेस्टुरेन्टमा काम गर्थिन् । ग्राहकसँग सम्बन्ध राख्दा गर्भवती भएको बताउँथिन् ।” तिम्रो बच्चा खोइ त भनेर सोध्दा ‘एउटा संस्थाले मलाई गर्भवती अवस्थामा हामी हेरचाह गर्छौं भनेर लगेको थियो, तर बच्चा जन्मेपछि उनीहरूले लगे, मलाई त्यहाँबाट निकालिदिए’ भनेकी थिइन् । ती बालिकाले त्यो संस्थाको नाम बताउन सकिनन् । अनुले सुत्केरी भएको तेस्रो दिनमा लगाउने कपडा पनि राम्रो नभएको, रगतैरगत पोतिएको अवस्थामा ती बालिकालाई भेटेको बताइन् ।

गैरसरकारी संस्था चेन्ज नेपालमा कार्यरत अधिकारकर्मी वर्षा लुईंटेललाई यौन व्यवसायी किशोरीहरूले बच्चा जन्माएर अरूलाई दिने, अनि त्यसबापत आर्थिक लाभ लिने गरेको थाहा छ । उनी भन्छिन्, “कलंकीको आकाशे पुल रहुञ्जेल साँझ परेपछि त्यहाँ ग्राहकसँग वार्गेनिङ्ग हुन्थ्यो । कुरा मिलाएर गेस्टहाउस जान्थे । त्यसक्रममा मैले गर्भवतीहरू पनि भेटेकी छु । अब बच्चा के गर्छौ त भन्दा उनीहरू एकअर्कामा आरोप प्रत्यारोप गर्थे । एकले अर्कालाई यसले बच्चा जन्माएर बेच्छे भन्थे । एउटीले त अर्कीलाई ‘यसले पहिला पनि बेचिसकेकी हो’ भनेर आरोप पनि लगाएकी थिई ।”

लुईंटेलका अनुसार, २०७४ कात्तिकमा ७ महीनाकी गर्भवती रहेकी एकजना यौनकर्मी किशोरी सेल्टरमा आइपुगिन् । काठमाडौंमै घर भएकी र ९ कक्षामा अध्ययनरत बताउने उनी गर्भवती भएपछि घरमा थाहा हुने डरले बच्चा जन्माउन सेल्टरमा पुगेकी थिइन् । लुइँटेल भन्छिन्, “उमेर १८–१९ वर्ष बताए पनि हेर्दा १६ वर्षकी जस्तै देखिन्थिन् । ७ महीनाको गर्भपतन गराउन मेडिकलले डेढ लाख रुपैयाँ मागेपछि पैसा तिर्न नसकेर उनी सेल्टरमा आएकी थिइन् ।”

अपराधको कारखाना

राजधानीमा यौन व्यवसायमा लागेका बालिका र किशोरीको संख्या कति होला रु यो क्षेत्रमा कार्यरत संघसंस्थाहरूले १५–१६ हजार बालिका र किशोरी यौनकर्मी रहेको बताए पनि आधिकारिक आँकडा कोहीसँग छैन भन्ने खबर खोज पत्रकारितामा लक्ष्मी बस्नेतले लेखेकी छन् । बालअधिकारकर्मी प्रमेश प्रधान यौन व्यवसायमा बालिकाहरूको आउने क्रम बढेको, तर संख्या किन बढ्यो र उनीहरू कहाँबाट कसरी आइरहेका छन् भन्नेबारे अध्ययन हुन नसकेको बताउँछन् ।


साँझको रत्नपार्क

ती संघसंस्थाहरूका अनुसार होटल, खाजाघर, गेस्ट हाउस र क्याबिनमा बालिका र किशोरीहरूलाई ‘ग्राहक रिझाउन’ कै लागि राखिन्छ । उनीहरू प्रायः १२–१३ देखि १७ वर्षसम्मका हुन्छन् । तर, उमेर सोध्यो भने मालिक र उनीहरू स्वयंले पनि साँचो बताउँदैनन् । धेरैजसो राम्रो कमाइ हुने आशामा गाउँबाट आएका हुन्छन् । उनीहरूलाई नै होटल, रेस्टुरेन्ट सञ्चालकहरूले विस्तारै यौन कार्यमा लगाउँछन् । त्यहाँ भाँडा माझ्नेलगायतका सरसफाइका काम गर्न पाका महिला या केटाहरूलाई राखिएको हुन्छ । मसाज सेन्टरहरूमा भने प्रायः १५÷१६ वर्षका बालिका–किशोरीदेखि २५–३० वर्षका महिला हुने गरेको चेन्ज नेपाल, ठमेल सम्पर्क कार्यालयकी प्रमिला चापागाईंले बताइन् ।

हुँदाहुँदा अब आवरणमा किराना पसल राखेर समेत यस्तो कार्य हुन थालेको छ । माइती नेपालमा कार्यरत अधिवक्ता उमा तामाङले आफूले निरीक्षण गर्दाको एउटा घटना सुनाइन्– “धुम्बाराहीमा चारतले घरको भुइँतलामा किराना पसल थियो । छिमेकीले शंका लागेर प्रहरीलाई खबर गरेपछि माइती नेपालबाट हामी हेर्न गयौं । घर भित्र दुइटा कोठा थिए । त्यहाँ १६–१७ वर्षका दुई किशोरी थिए । उनीहरूलाई एकजना ग्राहकबाट रु ५०० लिने गरी यो काममा लगाइएको भेटियो ।”

गैरसरकारी संस्था ‘वाईएसटी, नेपाल’ की अध्यक्ष भिक्टोरी थापाका भनाइमा यौन व्यवसायमा लागेकाहरू प्रायः कलिला बालिका छन् । ब्यूटीपार्लर र पुरुषको कपाल काट्ने शैलुन समेतमा मोलमोलाइ गरेपछि ग्राहक उनीहरूसम्म पुग्ने गर्छन् ।”

राजधानीमा यौनकर्मी बालिका र किशोरीहरूका लागि काम गर्ने दर्जनौं संस्था छन् । ती संस्थाले कतिपयलाई आफ्नो सेल्टरमै राखेर विभिन्न सीप सिकाइरहेका छन् । ती संघसंस्थाका कर्मचारीका भनाइमा, धेरैजसोले सीप सिक्नै खोज्दैनन् । सिक्न भनेर आएकाहरू पनि तालीम सकिंदासम्म टिक्दैनन् । करीब ९० प्रतिशत त बीचमै छाडेर हिंड्छन् । कति त पुरानै काममा फर्किन्छन् ।

कुनैबेला बालिका र किशोरीहरूलाई करकापमा पारेर यौनकार्यमा लगाएका उजुरी यस्ता संघसंस्थामा थुप्रै पर्थे । यातना दिइएका र कुटपिट गरिएका गुनासा आउँथे । पछिल्लो समय होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले उनीहरूलाई करकापमा होइन, फकाएर यो पेशामा लगाउने क्रम बढ्दो छ । त्यहीकारण उजुरी र गुनासो धेरै आउँदैनन् । कमाइ हुने लोभमा उनीहरू आफैं पनि हत्पत्ति त्यो काम छाड्न चाहँदैनन् ।

महानगरीय प्रहरी प्रभाग, गोंगबु बसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवार गोंगबु क्षेत्रका होटल र खाजाघरहरूमा धेरै बालिका यौनकार्यमा संलग्न रहेको बताउँछन् । उनी भन्छन्, “बेलाबेलामा हामी रेड पनि गर्छौं । तर, रंगेहात भेट्न गाह्रो छ, त्यत्तिकै कारबाही गर्न मिल्दैन ।”

महिला तथा बालबालिका कार्यालय काठमाडौंकी बालसंरक्षण अधिकृत इन्दिरा पौडेल भन्छिन्, “आधिकारिक विवरण नभए पनि अनुगमनमा जाँदा भेटिए अनुसार यौन व्यवसायमा लागेका मध्ये आधाभन्दा बढी किशोरीहरू १८ वर्षभन्दा तलका छन् ।”

यस्ता किशोरी र बालिकाहरूको संरक्षणका लागि सरकारले ‘श्रमजीवी महिलाहरूमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण निर्देशिका २०६५’ जारी गरेको छ । निर्देशिकाको दफा १५ अनुसार प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी एक समिति गठन हुन्छ । त्यसले उनीहरू शोषणमा परे नपरेको निगरानी गर्छ । तर, जिल्लामा प्रजिअ यति धेरै समितिका संयोजक रहन्छन् कि उनलाई यस्ता विषयमा ध्यान दिने फुर्सदै हुँदैन । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका शाखा अधिकृत पारसमणि पोखरेल ‘कार्यविधि बनाउने काम भइरहेको’ भनेर उम्किए ।

कानून अनुसार १६ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतीमा शारीरिक सम्पर्क गर्नु पनि जबर्जस्ती करणी गरेको ठहर्छ । तर, राजधानीको ‘यौन बजार’मा दिनहुँ व्यापक मात्रामा यस्तो अपराध भइरहेको छ । अझ दुखद् कुरा यी बालिकाहरूको संरक्षणका लागि सरकारी प्रयत्न शुरू नै भएको छैन भने पनि हुन्छ ।

विशेष