मनोरञ्जन

कृमा अनमोलको एक्सन र रोमान्टिक रूप

कृमा अनमोलको एक्सन र रोमान्टिक रूप

काठमाडौं । आगामी माघ २६ गते रिलिज हुने फिल्म कृको ट्रेलर सार्वजनिक गरिएको छ। पछिल्लो समयमा स्टारका रूपमा स्थापित नायक अनमोल केसीलाई फरक गेटअप र भूमिकामा प्रस्तुत गरिएका कारण रिलिजअघि नै चर्चा पाएको कृको ट्रेलर राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।

यसअघि लगातार चार फिल्ममा रोमान्टिक भूमिकामा देखिएका अनमोल पाँचौं फिल्म कृमा शानदार एक्सन हिरोका रूपमा प्रस्तुत भएका छन्।
ट्रेलरमा अनमोललाई एक्सनसँगै रोमान्टिक मुडमा देखाइएको छ। तर ट्रेलरको अधिकांश दृश्य एक्सनले भरिपूर्ण छ। ट्रेलरमा अदिती बुढाथोकीलाई रोमान्टिक र डराएको रूपमा देख्न सकिन्छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले आफू बोलेरभन्दा पनि कामले देखाउने भएकाले फिल्ममा त्यो काम दर्शकले हेर्न पाउने बताए। नायिका अदितीले राम्रो टिम र स्क्रिप्टमा काम गर्न पाउँदा खुसी लागेको बताइन्। त्यसै गरी फिल्म सम्पादकबाट निर्देशक भएका निर्देशक सुरेन्द पौडेलले आफ्नो यो दोस्रो फिल्मले बदलाको कथालाई प्रस्तुत गर्ने खुलाए। निर्माताद्वय भुवन केसी र सुवास गिरीले फिल्ममा आफूहरूले गरेको मेहनतलाई दर्शकले न्याय दिने विश्वास व्यक्त गरे।

फिल्ममा निर्देशक पौडेलकै कथा छ भने अनमोल केसी र अदिती बुढाथोकीका साथमा सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासियालगायतका कलाकार मुख्य भूमिकामा छन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ।

निर्माता सुवास गिरीको सुवास इन्टरटेनमेन्ट र निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीको द सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा कमल गिरी कार्यकारी निर्माता र श्रीपराजुली सहनिर्माता छन्।

विशेष