समाज

विद्यालयमा किशोर किशोरी मैत्री स्वास्थ्य सचेतना

विद्यालयमा किशोर किशोरी मैत्री स्वास्थ्य सचेतना

विराटनगर । विशेषज्ञ चिकित्सकको सक्रियतामा मोरङका सरकारी तथा निजी विद्यालयमा स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा माध्यमिक तहसम्म अध्ययरत किशोर किशोरीलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको चिकित्सकले बताएका छन्।

मोरङ जिल्ला अस्पताल रंगेली, चिकित्सकको आबद्धता रहेको बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब अफ धरान घोपा, विराटनगर लेडिज सर्कल ५, विराटनगर प्लेटिनम राउन्ड टेवल ११, इप्का लेब्सलगायत संघ संस्थाको आयोजनामा प्राथमिक उपचार, प्रजनन स्वास्थ्य र महिनावारी सम्बन्धी चेतनामुलक कार्यक्रमहरु गर्न थालिएको हो।

चेतनामुलक कार्यक्रमका लागि ‘प्राथमिक उपचार पद्धतिलगायत स्वास्थ्य सम्बन्धी कुरा सिक्न सबै जुटौं, स्वास्थ्य सम्बन्धी ज्ञान लिनबाट कोही पनि नछुटौं’, भन्ने नारा नै तय गरिएको छ।

पहिलो चरणमा मोरङको रंगेलीका आठा विद्यालयका १५ सय विद्यार्थीलाई प्राथमिक उपचार, प्रजनन स्वास्थ्य र महिनावारीलगायतका बारेमा जानकारी गराइएको विराटनगर प्लेटिनम राउन्ड टेवल ११ का अध्यक्ष डा विमल अग्रवालले बताए। ‘किशोर अवस्थाका विद्यार्थीमा स्वास्थ्य सम्बन्धी धेरै ज्ञान हुँदैन,’ उनले भने, ‘यस्ता कार्यक्रमबाट विद्यार्थीमा स्वास्थ्य सम्बन्धी चेतनाको विकास हुन्छ।’ अग्रवालले किशोर किशोरीको उल्लेख्य सहभागितामा कार्यक्रम भइरहेको बताए।

विशेष