मुख्य समाचार

थन्कियो झण्डै दुई अर्बको हुलाक टिकट ?

थन्कियो झण्डै दुई अर्बको हुलाक टिकट ?

काठमाडौं ।  हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपैयाँका टिकट थन्किएका छन् ।

सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपैयाँदेखि पाँच सय रुपैयाँदरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ। यति धेरै स्रोत निष्क्रिय भए पनि हुलाक सेवा अब थला बसेकै हो त भन्ने प्रश्न उठेको छ । टिकटको यो अवस्था रहे पनि हुलाकले आम उपभोक्तामा हुलाक मोह मरिसकेको छ भन्ने ठानेको छैन। विद्युतीय सूचना सञ्जालले बजार ओगटिरहेको आजको अवस्थामा हुलाकको प्रयोग पनि सुस्ताएकै हो भन्ने कुरा अधिकारी मान्न तयार छैनन्। केन्द्रीय टिकट भण्डार सुन्धाराबाट फिलाटेलिक ब्युरोले गत आर्थिक वर्षमा दुई करोड ८९ लाख रुपैयाँको टिकट खरिद गरेको छ। प्रथम दिवसीय हुलाक टिकटको कारोबारमा फिलाटेलिक अग्रस्थानमा छ ।

केन्द्रीय टिकट भण्डार सुन्धाराका व्यवस्थापक नारायणप्रसाद पौडेलका अनुसार सुन्धारास्थित गोश्वारा हुलाक, ललितपुर, मकवानपुर, पोखरा, चितवन, मोरङ र झापा अत्यधिक हुलाक टिकट प्रयोग गर्ने अग्रपङ्क्तिमा छन्। प्रकाशन भएका टिकटमा एक रुपैयाँदेखि २, ३, ४, ५ हुँदै ९, ७, ८ र बढीमा पाँच सय रुपैयाँ दरका टिकट छन्। एक समय पाँच रुपैयाँ ४० पैसामा रजिष्ट्ररी चिठी पठाइन्थ्यो, पछि यसको मूल्य छ रुपैयाँ भयो, पाँच रुपैयाँ४० पैसाको रजिस्ट्ररी व्यवस्था हटेपछि ४४ हजार पाँचसय थान हुलाक टिकट बेचल्तीको भई थन्किन पुगे । 

सरकारी निवेदन शुल्क १० रुपैयाँतोकिएपछि ९, ७, ८ रुपैयाँका टिकटमा क्रमशः १,३ र २ रुपैयाँको टिकट जोडेर १० रुपैयाँ बनाई चलाइएको छ। चिठीपत्र रजिस्ट्ररी पार्सलमा जसरी सरकारी निवेदनमा पनि उत्तिकै हुलाक टिकट प्रयोग भइरहेको व्यवस्थापक पौडेलले बताउनुभयो। एघार रुपैयाँ दरको हुलाक टिकट पनि चल्तीमा नरहेकोले तीन करोड ३७ लाख रुपैयाँबराबरका ३० लाख ६९ हजार टिकट भण्डारमा थन्किएको छ। 

विशेष