स्वास्थ्य

तीन दिनकी सुत्केरी अस्पतालबाटै गायब

तीन दिनकी सुत्केरी अस्पतालबाटै गायब

वीरगञ्ज । वीरगञ्ज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट एक सुत्केरी आमा गायब भएकी छन्। सर्लाही, कविलास नगरपालिका वडा नम्बर २ पिपरियाका कृष्णदेव नन्दन मण्डलकी पत्नी ललिता देवी बुधवार राति ११ बजेदेखि बेपत्ता भएकी हुन्।

ललिता पुस २ गते बिहान ८ बजे प्रसुतीको लागि मेडिकल कलेजमा भर्ना भएकी थिइन्। ललिताले नर्मल डिलिभरीबाट बच्चा जन्माउन नसकेपछि चिकित्सकले सिजेरियन अप्रेशन गरी पेटबाट बच्चा निकालेका थिए। छोरी जन्माएकी ललिता पोस्ट अप्रेशन वार्डमा थिइन्। बच्चा एक दिन सघन उपचार कक्षमा राखियो। तर बुधबार बच्चालाई एनआईसियुबाट निकालेर आमासँगै जनरल वार्डमा सारिएको थियो। बुधबार राति ८ बजे बच्चालाई ललिताले दुध पनि खुवाइन्। तर ११ बजे बच्चालाई पुनः दुध खुवाउन खोज्दा ललिता बेडमा नरहेको ललिताकी सासु तेतरी देवीले बताइन्।

पर्सा प्रहरीमा वेपत्ता सुत्केरीका पति मण्डलले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। यसअघि नारायणी अस्पतालबाट नवजात शिशु  दुई पटक चोरी भएको घटना सार्वजनिक भइसकेको छ।

विशेष