खेल

रोहित शर्माका शतकद्वारा भारतले श्रीलंकालाई हरायो

रोहित शर्माका शतकद्वारा भारतले श्रीलंकालाई हरायो


काठमाडौं । कप्तान रोहित शर्माको बिष्फोटक ब्याटिङ मद्दतमा श्रीलंकाविरुद्धको दोस्रो टी– २० क्रिकेटमा घरेलु टोली इण्डियाले प्रभावशाली जित दर्ता गरेको छ ।

गएराती भ्रमणकारी टोलीलाई ८८ रनले हराउँदै इण्डियाले एक खेल अगावै ३ म्याचको सिरिज कब्जा गरेको हो । जितका २ सय ६१ रनको चुनौती पछ्याएको श्रीलंका १६ बल अगावै १ सय ७२ रनमा समेटियो । युजभेन्द्र चहालले ४ तथा कुलदिप यादवले ३ विकेट लिएपछि श्रीलंका लक्ष्य भेट्न असमर्थ रह्यो । कुशल परेराले ७७ र उपुल थरंगाले ४७ रन बनाएपनि टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि इन्दौरमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ५ विकेट गुमाई २ सय ६० रनको विशाल योगफल तयार पारेको थियो । ३५ बलमा ऐतिहासिक शतक प्रहार गरेका कप्तान रोहित शर्माले १ सय १८ रनको योगदान गरे । यो सँगै शर्माले टी– २० क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने डेबिड मिलरको किर्तिमान बराबरी गरेका छन् । लोकेश राहुलले ८९ र महेन्द्रसिंह धोनीले २८ रन बनाए । दुई राष्ट्रबीचको तेस्रो तथा अन्तिम टी– २० क्रिकेट भोली मुम्बईमा हुनेछ ।

विशेष