एमालेको भित्री ब्यथाः ओली–पोखरेल बाम एकता उधार्दै, नेपाल–गौतम टाल्दै
नेकपा एमालेभित्र शक्ति संघर्ष उच्चतम बिन्दुमा पुगेको छ । भलै छताछुल्ल भएको छैन, नेताहरुको रसाकस्सी विष्पोटको विन्दुमा छ । थोरैमात्र तलमाथि भए एमालेभित्रको छालले बामगठबन्धनसमेत भत्कने खतरा रहेको एमालेकै नेताहरु बताउछन् ।
बहुमतको निकट रहेको एमालेका अध्यक्ष केपी ओली नेकपा माओवादी केन्द्रलाई भाउ नदिने पक्षमा छन् । माओवादीले निहुँ खोजे पनि १७ मत जोड्न सकिने र सरकार गठन गरिने हिसावकिताब बालकोटले बुनेको बताइन्छ । पार्टीभित्र अरु नेतालाई छाँयामा पारिसकेका ओलीका लागि एकतापछि सबैभन्दा चुनौति प्रचण्ड बन्ने निश्चित छ । ओलीले आफ्नै शैलीमा आफ्नासँग भन्ने गरेका छन्–नदुखेको टाउको नाम्लो लगाएर किन दुखाउनु ?
चुनावको मुखैमा ओलीको धमकेदार बोलि बाहिरियो–माओवादी जनयुद्ध शैद्धान्तिक भुल थियो । माओवादी पंक्तिलाई तरंगित पार्ने तरपनि प्रतिक्रियाबिहिन बस्नुपर्ने परिश्थितिमा ओलीको बोली आएको थियो । किनकि माओवादीको सहयोग बिनैपनि ओली चुनाव जित्थे । एमालेले थोरैमात्र गडबडी गरिदिए पनि प्रचण्ड हार्थे । प्रचण्डले मुटुमाथि ढुंगा राखेर मौखिकरुपमा आन्तरिक सर्कुलर जारी गरे–ओलीको बोली सुनेको नसुन्यै गर्ने ।
अहिले ओली भन्दैछन्–चुनाव अघि त चिल्लो घसिएन, अब घसिन्छ ? माओवादीसँग भएको भद्र सहमति विपरित ओलीले प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष आफैँ बन्ने भनिदिए । ओलीसँग हो मा हो मिलाउँदै महासचिव ईश्वर पोखरेलले प्रष्टै भने–एमाले हेड खोज्दै हिड्नेवाला छैन ।
ओलीको उत्तराधिकारीका रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका पोखरेलका सामू बाम एकता तरवार बनेर तेर्सिएको बुझ्न कठीन छैन । माओवादीसँग एकता भइहालेमा पदीय बाँडफाँडमा पोखरेलको बरियता अझ तल झर्नेछ । ओलीपछिको उत्तराधिकारी को भन्ने उति सहज हुनेछैन जति सहज एमालेमात्र रहँदा देखिन्छ । ओली–पोखरेल बोली पार्टीभित्रको सत्ता कब्जामा केन्द्रीत रहेको एमालेका एक पदाधिकारीले नेपाल आजसँग बताए ।
एमाले माओवादीको एकताको पक्षमा माधब नेपाल, बामदेब गौतम र बिष्णु पौडेलले जोड दिँदै आएका छन् । माधब नेपाल महासचिब हुँदै एकताका लागि प्रयास भएको थियो, सफल हुन सकेन । प्रचण्डसँग ओलीको भन्दा नेपालको केमेष्ट्री बढी मिल्छ । ओलीको उदयसँगै ओझेल पारिएका वा परेका नेपालका लागि सम्भावित पार्टी एकताले राम्रै अवसर दिलाउन सक्छ । प्रचण्ड–ओलीको शक्ति संघर्षमा आफू मध्यबिन्दु बन्न सक्ने नेपालको बुझाइ छ । नेपाल यस कलाका लागि निपूर्ण मानिन्छन् ।
ओली पक्षधर नेताहरुले घात नगरेको भए बर्दियामा बामदेब गौतमको जित सायदै असम्भव थियो । गौतम प्रतिनिधिसभा सदस्य भएको भए उनी प्रधानमन्त्री बन्ने सम्भाबना उत्तिकै थियो । गौतमलाई प्रधानमन्त्री बनाउन प्रचण्डले सहयोग गर्ने र प्रचण्डलाई एकतापछि नेतृत्वमा स्थापित गर्न गौतमले सहयोग गर्ने समझदारी जो थियो । पश्चिमका गौतम पूर्वबाट भएपनि प्रतिनिधिसभामा प्रवेश गर्ने झिनो दाउ हेर्दैछन् । झलनाथ खनाल वा सुवास नेम्वाङ्गलाई राष्ट्रपति बनाउने र रिक्त क्षेत्रबाट उम्मेदवार भइ प्रतिनिधिसभामा प्रवेश गर्ने गौतमको दाउ छ । दाउमा ताउ लाउने सम्भाबना छ पनि, छैन पनि । किनकी ओली बिद्या भण्डारीलाई नै शितल निवासमा दोहोराउने पक्षमा रहेको बुझिन्छ, प्रचण्ड स्वयंपनि बिद्याको सवालमा उदार छन् । बाम एकताको बिउ बिद्या भण्डारीले शितल निवासबाटै उमार्न हरदम पहल गरेको कुरा बिर्सन सायदै सकिएला ।
गौतम प्रतिनिधिसभा सदस्य बन्लान नबन्लान्, पार्टी एकता भइहाले शक्ति संघर्षको निर्णायक पक्ष बन्ने छन् । उनको समर्थनले को शक्तिशाली बन्ने भन्ने निचोड निस्कनेछ । एमालेले अहिले सक्रिय राजनीतिका लागि ७० को उमेरहद तोकेको छ । एकतापछि सो हद हटाइने निश्चितप्राय छ । ७० को आसपास पुगेका गौतमका लागि एकता यसकारण पनि अनिवार्य रहेको बतान्छ ।
पार्टी एकता भइहालेमा दीर्घकालीनरुपमा बिष्णु पौडेल हाबी हुनेछन् । पहिलो पुस्ताका नेताहरुका बीचमा हुने प्रतिष्प्रर्धाले पौडेललाई खाशै प्रभाव पार्नेछैन । पार्टी संगठनमा प्रिय रहेका पौडेल माओवादी पंक्तिका लागि पनि अप्रिय छैनन् । तसर्थ दुबै पक्षमा स्विकार्य हुने विश्वास पौडेलको छ । एकता भइहालेमा ईश्वर पोखरेललगायत केही शीर्ष नेताको पार्टी कमाण्ड सम्हाल्ने धोको अधुरो रहने सम्भाबना अधिक रहन्छ । दोस्रो पुस्ताले नेतृत्व सम्हाल्ने बेला पौडेल हाबी हुने आँकलन पौडेल स्वयंले किन गर्दैनथे र !
माओवादीसँग एकता हुँदा एकथरी एमाले नेताहरु चुक्ता दिनेमा पर्नेछन् । अर्कोथरी नेताहरु भुक्तानीले लिनेमा दरिने छन् । यही हिसाव किताबले एमालेभित्र हंगामा मच्चिएको छ ।