विश्व किर्तीमानी क्रिकेटर आलमका तीतामिठा अनुभव (भिडियो सहित)
मेहबुब आलम नेपालका चर्चित क्रिकेटर हुन् । उनले सन २००८ मा अमेरिकाको न्यू जर्सीमा सम्पन्न भएको एकदिवशीय क्रिकेटमा एउटै खेलमा १० विकेट लिएर विश्व किर्तिमान कायम गरेका छन् । उनको किर्तिमान गिनिजबुकमा पनि दर्ता भएको छ । उक्त प्रतियोगितामा नेपालले मोजाम्विकविरुद्ध शानदार विजय हाशिल गरेको थियो ।
त्यसपछि भने उनले कहिले पछाडि फर्किएर हेर्नु परेन । नेपालको क्रिकेट टिममा उनको प्रदर्शन सधैं उल्लेखनिय रहेको छ । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको इपिएल खेल्नका लागि आलम राजबिराजबाट काठमाडौं आएका छन् । इपिएलमा उनी ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रटियास्बाट अलराउण्डर प्रदर्शन गरिरहेका छन् ।
उनी बर्षभरिनै ब्यस्त रहने खेलाडी हुन् । उनै भेट्रान क्रिकेटर महबुब आलमसंग नेपालमा क्रिकेटको अवस्था, इपिएलमा भैइरहेको प्रदर्शन, उनका ब्यक्तिगत जीवनका पाटाहरुसमेत केलाउदैं नेपाल आजले कुराकानी गरेको छ ।
इपिएलमा ललितपुरको पदर्शन
हामीले अहिलेसम्म जम्मा एउटा गेममात्र जितेका छौँ । टिम एकदमै ब्यालेन्स छ तैपनि सबै प्रदर्शनले जित निकाल्नसकेको छैन । हामी भन्दापनि तल चितवन टाईगर्स रहेको छ । इपिएलमा सबै टिमहरु ब्यालेन्स नै छन् । कसले जित्छ भन्न सकिदैन । बिराटनगर र पोखरा अलि शसक्त देखिएका छन् । उपाधीको दावेदार हामी पनि हौँ ।
खेलाडीको जीवनस्तरका बारेमा
पहिला भनेजस्तो क्रिकेट खेलेर बाच्न नसकिने अवस्था छैन् । अहिले नेपालको क्रिकेटमा ब्यावसायिकता स्पष्ट देख्न सकिन्छ । खेलाडीहरुको जीवनस्तर निकै माथि छ । क्रिकेट खेलेर खेलाडीले नाम र दाम दुबै कमाएका छन् । अन्तर्राष्ट्रिय स्तरमामात्र होइन घरेलु प्रतियोगिताले पनि खेलाडीहरुको दैनिकी फेरिएकोे छ । तर हाम्रो गेम भने निकै तल आइसकेको छ । हामी डिभिजन १ बाट घटेर तल झरेका छौं डिभिजन २ मा । त्यस्तै बंगलादेशमा टि–२० को विश्वकपपछि नेपाली टिम अझै माथि उक्लनु पर्ने हो तर झन् टिमको उपलब्धी खस्कएिको छ । यस्तो हुनुमा पहिलो त घरेलु प्रतियोगिता पर्याप्त हुंदैनन् । पहिले हामी वर्षमा ८–१० दिन घरमा बस्ने गथ्र्याै,ं अहिले थोरै दिनमात्र मैदानमा हुन्छाँै । हामीकहाँ स्तरीय खेल मैदान छैनन् ।
क्यानको ध्यान पदमा छ, क्रिकेटमा छैन
तपाईले क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)का पदाधिकारीको दिमागमा क्रिकेटको एजेण्डै छैन, तर यो पद पाए हुन्थ्यो भन्ने छ । हाम्रो समस्या सुनिदिने निकाय छैन । ब्यवस्थापन गतिलो छैन । आईसीसीले दिएको फण्ड र निर्देशनले मात्र पुग्दैन यदि नेपाली टोलीले ठूला प्रतियोगिता जित्नु छ भने । तर क्यानको अस्थिरताका कारण हामीले ठूला प्रतियोगिताहरुमा हात धुनु परेको छ । त्यसैले छिटै क्यानको गठन र क्रिकेटप्रेमी पदाधिकारीहरु आउन जरुरी छ ।
अभ्यास खेलमा हामीले होइन, उनीहरु हामीबाट सिक्छन्
अन्तर्राष्टिय प्रतियोगिता हुनुपूर्व हामीलाई जुन–जुन टिमसंग अभ्यास खेल खेलाइन्छ ति भारतका एकेडेमी लेभलका टिम हुन्छन् । क्यान छैन, को–अर्डिनेसन गर्ने निकाय नै छैन । आईसीसीलाई पनि थाह हँुदैन सबै कुरा । हामी अहिले भारतको चेन्नाईमा जान्छौँ अभ्यास खेल्न तर त्यहाँ हामीलाई उपलब्ध गराएका टिम स्कुल लेबलका हुन्छन् । अनि कसरी हामी प्रतियोगिता जित्न सक्छौंंंं ?
बिश्वकप खेल्ने सपना अधुरो हुन्छ
क्यानको लापरबाही र आईसीसीकै भर पर्नेमात्र हो भने हामीलाई विश्वकप खेल्न कठीन छ । ५० ओभरको खेलमा हामी रन बटुल्न सक्दैनौ । हाम्रो ध्यान विपक्षिले कम रन बनाओस भन्नेमा हुन्छ । हामीलाई १५० रन बनाउन मुस्किल पर्छ । २० ओभरमा नेपालले बनाउने स्कोर र ५० ओभरमा बनाउने स्कोर लगभग उस्तै छ । यो अभ्यासकै कारणले गर्दा भएको हो ।
उत्कृष्ट क्याप्टन पारस नै हुन्
मैले लगभग ५ जना क्याप्टेनको अण्डरमा खेलिसकेको छु । त्यसमध्ये पारसको क्याप्टेन्सी नै सशक्त छ । उनि टिमलाई राम्रो लयमा लिएर हिड्छन् । खेलाडीहरुलाई मैदानमा नै हौसलापनि बढाउँछन् । त्यसकारण क्याप्टेन परिवर्तन गर्नुपर्छ जस्तो मलाई लाग्दैन । पारसको जस्तो योग्यता अरुमा खासै देखेको छैन । बरु केही प्रदर्शनबाट चुकीरहेका खेलाडीहरुको भने हेरफेर गर्न आवस्यक छ ।
रेर्कडको घमण्ड छैन
मोजाम्बिक विरुद्धको खेलमा मैले एक्लैले १० विकेट लिएको थिएँ । यो सन् २००८ को कुरा हो । त्यसैको बिश्व रेर्कड भयो गिनिजबुकमा मेरो नाम छ । यसमा मलाई रत्तिभर घमण्ड छैन । एउटा खेलाडीको जीवनमा अनेक रेर्कड बन्दै जान्छन् र तोडिन्छन् पनि । बरु भगवानले मलाई त्यो दिन उपहारका रुपमा दियो त्यसमा भने खुशी लाग्छ । मेहनत त सधैं गरिन्छ तर त्यस दिन सायद भगवानले मेरोलागि बनाइदिएका थिए । त्यसैले मेरा फ्यानहरुलाई पनि त्यो केवल एउटा राम्रो दिन थियो भनेर लिन अनुरोध गर्दछु ।
व्यक्तिगत जीवनका पाटाहरु
एउटी छोरी छन् । मेरो मागी विवाह भएको हो । बुबाआमाले खोजिदिएकी केटीसँग विवाह गरँे । अहिले उनीजत्तिको समझदार श्रीमती पाएर हर्षित छु । आमा बुवा पनि खुशी हुनुहुन्छ । मैले घरमा त्यति धेरै समय दिन पाउँदिन तर उहाँहरु गुनासो गर्नु हुन्न । आमाबुबा घरमा भएकाले गर्दा पनि मेरो काधँमा जिम्मेवारी आएको छैन् । यो अर्थमा म निकै भाग्यमानी मान्छे हुंँ ।
क्रिकेटपछिको जीवन
मैले मेरो जीवनको उर्जावान समय क्रिकेटमै बिताएको छु । खेल्न छोडेपछि पनि म यसै वरिपरी नै रहने छु । कुनै क्रिकेटको कोच अथवा आफ्नै क्रिकेट एकेडेमी खोल्ने सोच छ । मुख्य कुरा चाहीँ मेरो क्रिकेटमै जिन्दगी बित्छ जस्तो लाग्छ ।