मुख्य समाचार

पशुपति परिसरमा सवारी निषेध, यहाँ पार्किङ गर्नुहोस्

पशुपति परिसरमा सवारी निषेध, यहाँ पार्किङ गर्नुहोस्

काठमाडौँ । राजधानीमा ट्राफिक व्यवस्थापन गर्ने क्रममा महानगरीय ट्राफिक महाशाखाले पशुपतिनाथ क्षेत्रलाई पनि ‘चारपांग्रे निषेधित क्षेत्र’ बनाएको छ । दर्शनार्थीलाई हुने कठिनाइलाई ध्यानमा राख्दै मंगलबारदेखि यस्तो नियम लगाइएको हो ।

विश्व सम्पदा सूचीमा परेको पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीले अब दुई वा चारपांग्रे गाडी लान पाउने छैनन् । पशुपति विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले शववाहन, एम्बुलेन्स र अन्य अत्यावश्यक वाहनबाहेक अन्यलाई प्रवेश नदिइने बताए । उनले भने, ‘चारशिवालय चोक वनकाली मुख्य प्रवेशद्वार भएकाले त्यहाँबाट पिंगलास्थान निस्किने गरी एकतर्फी सवारी लैजान सकिन्छ ।’

उक्त ‘वन वे’ हुँदै पार्किङ स्थल जान सकिन्छ । सवारी फर्काउन सुमार्गी भवनअगाडिको सडक प्रयोग गर्न सकिनेछ । यसअघि दक्षिण र पश्चिमी ढोकाबाट गाडीहरू पनि प्रवेश गर्दथे । यसबाट भक्तजनलाई मर्का परेको र केही सानातिना दुर्घटना पनि हुने गरेको थियो ।

कोषका अनुसार तीन स्थानमा दर्शनार्थीले सवारीसाधन पार्क गर्न सक्नेछन् । पहिले पनि प्रयोग हुँदै आएको वनकाली चौर तथा उत्तरमा उमा कुण्ड र तीलगंगा गरी तीन स्थानमा सशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

‘पार्किङस्थलबाट मन्दिर नजिकै छ, झन्डै साढे तीन सय मिटर जति,’ ढकालले भने, ‘दर्शनार्थीलाई पार्किङको समस्या हुने छैन ।’ दुईपांग्रेको १० र चारपांग्रेको २० रुपैयाँ पार्किङ शुल्क तोकिएको छ । समयसीमा भने नतोकिएको कोषको भनाइ छ । दर्शन गरेर फर्किने बेलासम्म पार्क गर्न सकिनेछ । मन्दिरजस्तो धार्मिक क्षेत्रमा शंख र घन्टीको आवाजले भन्दा सवारीका हर्नले धार्मीक वातावरण खल्बल्याएकाले सवारी निषेध राम्रो निर्णय भएको स्थानीयले बताए । स्थानीयवासीका लागि वडा नं ८ ले पासको व्यवस्था गरेको छ । वडाले उक्त क्षेत्र वरपर घर हुनेलाई पास वितरण गर्नेछ ।

यसअघि पर्यटकको चाप हुने ठमेल क्षेत्रमा पनि कात्तिक पहिलो सातादेखि सवारीसाधन निषेध गरिसकिएको छ । त्यहाँ सकारात्मक प्रतिक्रिया पाएपछि पशुपति क्षेत्रमा पनि यस्तो नियम लगाइएको हो ।

विशेष