मुख्य समाचार

ओली र प्रचण्ड पुगे शितल निवास, अध्यादेश पारित नगर्न राष्ट्रपतिलाई आग्रह

ओली र प्रचण्ड पुगे शितल निवास, अध्यादेश पारित नगर्न राष्ट्रपतिलाई आग्रह


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित नगर्न ओली र दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः दबाब दिने स्रोतले बताएको छ। राष्ट्रपति भण्डारी र नेताद्वय ओली तथा दाहालबीच नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने स्रोतले जनायो। एमाले र माओवादीले अध्यादेश कुनै पनि हालतमा पारित गर्न नहुने बताउँदै आएको छ।

कांग्रेस र राजपालगायत दलहरूले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश तुरुन्त प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब दिँदै आएका छन्। राष्ट्रपतिले पनि प्रमुख दलबीच सहमति नभएसम्म अध्यादेश स्वीकृत नगर्ने बताउँदै आएकी छिन्। कांग्रेसले अध्यादेश पारित नभएसम्म सरकार नछोड्ने अडान राखेका कारण नयाँ सरकार गठनमा समेत कठिनाइ उत्पन्न भएको छ।

कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादी बहुमतीय प्रक्रियाको पक्षमा छन्। यसैबीच राष्ट्रपतिसँगको भेटपछि एमाले– माओवादी एकता समिति बैठक वा दुई पार्टीका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।

विशेष