मुख्य समाचार

सरकारको निर्णयः क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता

सरकारको निर्णयः क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीलाई ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने भएको हो ।

‘यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने ।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीलगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले यस्ता बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेअनुसार मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास गरेको हो ।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

विशेष