मुख्य समाचार

रोकियो रानीपोखरीको निर्माण कार्य, यसो भन्छ पुरातत्व विभाग

रोकियो रानीपोखरीको निर्माण कार्य, यसो भन्छ पुरातत्व विभाग

काठमाडौं । रानीपोखरी–राजनीतिले यसको पुनर्निर्माणमा अझ ढिलाइ हुने भएको छ । ऐतिहासिकतासहित पुरानै संरचनामा बनाउने कि आधुनिक संरचनासहित निर्माण गर्ने विषयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किँदा त्यसको असर पुनर्निर्माणमा देखिएको हो ।

रानीपोखरी ऐतिहासिक स्वरुपविपरीत निर्माण गर्ने तयारी गर्दै काम सुरु गरिएपछि संरक्षणविद्, संस्कृतिकर्मी र स्थानीयवासीले यसको तीव्र विरोध गर्दै आएका छन् । तर, विरोधकै बीच महानगरले काम अघि बढाएको थियो ।

रानीपोखरी पुरानै स्वरुपमा नभई ऐतिहासिकता मेट्नेगरी अत्याधुनिक बनाउन लागिएको भन्दै सम्पदाप्रेमी स्थानीयको अगुवाइ गर्दै गएकी खड्गीले मंगलबार मूलगेटमा तालाबन्दी गरेकी थिइन् । त्यसको केहीबेरमै पुगेका मेयर शाक्यले सो तालाबन्दी खुलाएका थिए । यसपछि मेयर–उपमेयरको विवाद सतहमा देखिएको हो ।

यो विवादले मंगलबारदेखि नै काम रोकिएको छ। थप छलफल भई सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वर्ल्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले बताए ।

मेयर शाक्य भने विवाद चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढ्ने बताउँछन् । शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्देशन दिइरहँदा उपप्रमुख खड्गीले नियमविपरीत निर्माण भएको भन्दै रोक्न पहल गरिरहेकी छिन् ।

सम्झौताअनुसार गत कात्तिक मसान्तसम्ममा पहिलो चरणको बाहिरी पर्खाल लगाउने काम सम्पन्न गरिसक्नुपर्ने भए पनि यस्तै विवादका कारण उक्त कामसमेत पूरा हुन सकेको छैन । २०७२ बैसाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माणको शिलान्यास २०७२ माघ २ गते राष्ट्रपतिबाट भएको थियो ।

पुरातत्व विभागले कंक्रिटबाट निर्माण गरिएको पुरातात्विक वस्तुभन्दा परम्परागत सामग्रीबाट निर्माण भएको मठ, मन्दिर तथा भवन बढी टिकाउ र बलियो हुने जनाएको छ ।

कंक्रिटबाट भवन निर्माण गर्ने प्रचलन विश्वव्यापी भएसँगै त्यसको असरका रुपमा नेपालमा पनि कंक्रिट अथवा ढलान गरेर भवनमात्र नभई भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर तथा पुरातात्विक वस्तुको निर्माण गर्ने होड बढ्दै गएको बेला पुरातत्व विभागको उक्त धारणा बाहिर आएको हो ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले परम्परागत शैलीबाट निर्माण भएका मन्दिर, पाटी, पौवा, बौद्ध विहार ४ सय वर्षदेखि जीवित धरोहरका रुपमा रहेको देख्न सकिने प्रस्ट पारे । परम्परागत शैली तथा सामग्री प्रयोग गरी निर्माण भएका त्यस्ता मन्दिर तथा सत्तल नेपालमा बारम्बार गइरहेको शक्तिशाली भूकम्पबाट पनि केही नभएका थुप्रै उदाहरण रहेको उनले बताए । रानीपोखरी पुनर्निर्माणका लागि विभागले कंक्रिट प्रयोग गर्नेगरी महानगरपालिकालाई स्विकृति नदिइएको उनले बताए।

विशेष