स्वास्थ्य

१ सय ४ वर्षीय वृद्वले आँखा देख्ने भए...

१ सय ४ वर्षीय वृद्वले आँखा देख्ने भए...

म्याग्दी । उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखलाग्दो हुँदैन । यस्तै दुःख र पीडामा थिए म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामका १०४ वर्षीय ओमलाल निउरे । निउरेका दुवै आँखा दुई वर्षअगाडि बन्द भएपछि उनलाई रात र दिन एकै लाग्थे ।

उमेरले सतक नाघेका निउरेका आँखा बन्द भएपछि उठ्ने, सुत्ने, खाना खाने, शौचालय जाने सबै काममा परिवारका सदस्यहरुले सहयोग गर्नुपथ्र्यो । दृष्टि बन्द भएपछि परिवारका सदस्यलाई समेत देख्न नपाएका निउरेले बोलीबाट पहिचान गर्ने गर्दथे । निकै कष्टपूर्ण तरिकाले दुई वर्ष बिताभएका निउरेको दैनिकीमा अब भने परिवर्तन आएको छ । दैनिकीमा परिवर्तनसँगै उनको अनुहारमा मुस्कान र मनमा खुशी पनि फर्किएको छ ।

उनी पुनः आँखा देख्नसक्ने भएका हुन् । यो खुशी उनलाई दरवाङमा मंगलबार सम्पन्न बृहत् आँखा शिविरले दिएको हो । पश्चिम म्याग्दीको दरवाङमा एक व्यक्तिको आर्थिक सहयोगमा लायन्स क्लब अफ म्याग्दी, दरवाङको व्यवस्थापनमा गत आइतबारदेखि सञ्चालित शिविरबाट ४६ जनाले नयाँ दृष्टि पाएका छन् भने ७०२ जनाले उपचार गराएका छन् । नयाँ दृष्टि पाउनेमा १४ जना ८० वर्ष उमेर पार गरेका छन् । दुई वर्षपछि पहिलोपटक आफ्ना छोरा खडानन्द निउरेलाई देखेपछि फुरुंग भएका १०४ वर्षीय ओमलाल निउरेले खुशी हुँदै भने, “यो उमेरमा पनि मैले अर्को जन्म पाएँ ।” निउरेको दुवै आँखाको शल्यक्रिया गरेर शिविरको उद्घाटन गरिएको थियो । आँखा देख्ने भएपछि निउरे हिँडेर आफ्नो घर फर्किसकेका छन् ।

निउरे जस्तै मालिका गाउँपालिका–५ देविस्थानका ८२ वर्षीय पूर्णबहादुर शेरचन, धौलागिरि गाउँपालिका–७ ताकम मच्छिमकी ८४ वर्षीया लिलसरा विक लगायतले नयाँ दृष्टि पाएका छन् । आँखाको शल्यक्रिया लगत्तै नजिकै रहेका आफन्तलाई समातेर मुसुक्क हाँसेर उनीहरुले चारैतिर छक्क पर्दै हेरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मी समेत दङ्ग परेका थिए ।

हिमालयन आँखा अस्पताल, पोखरा, जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य चौकी, दरवाङको प्राविधिक सहयोग, दरवाङस्थित लियो र लायन्स क्लबको आयोजनामा सम्पन्न तीनदिने आँखा एवम् बृहत् स्वास्थ्य शिविरको सम्पूर्ण आर्थिक सहयोग मलेसियामा व्यवसाय गर्ने बेनी नगरपालिका–१, रत्नेचौर स्थायी घर भएका दीपक बोगटीले गरेका थिए । उनले आफ्ना स्व पिता ओमबहादुर बोगटी र भाइ लोकेश बोगटीको स्मृतिमा शिविरमा आर्थिक सहयोग गरेको बताए । आँखा शिविरबाट ७०२ र बृहत् स्वास्थ्य शिविरमा ८५७ जनाको निःशुल्क स्वास्थ्य जाँच, शल्यक्रिया र औषधि वितरण गरिएको लायन्स क्लब अफ दरवाङकी अध्यक्ष याममती रोकाले बताए ।

विशेष