समाज

बाटाेमै जन्मिन्छन्, बाटाेमै बित्छन्

बाटाेमै जन्मिन्छन्, बाटाेमै बित्छन्

बाजुरा । स्बूढीनन्दा नगरपालिका–८ की ३६ वर्षीया डोमा गुरुङ (भोटे) ले हालसम्म ११ सन्तान जन्माइन्। यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन्। तीमध्ये ८ सन्तान बाटोमै बिते। अहिले ३ जना मात्र जीवित छन्।

लेकाली भेगमा बसोबास गर्ने भोटे जनजाति चिसो मौसम सुरु भएपछि कात्तिकबाट औलतिर झर्न थाल्छन्। सिंगै परिवार भेडाच्यांग्रासहित घर छाड्ने भएकाले कतिपय गर्भवती बसाइँसराइका क्रममा बाटोमै बच्चा जन्माउँछन्। बाजुराको उत्तरी भेगका यी बासिन्दाको थर गुरुङ, थापा रहे पनि उनीहरू भोटे जनजाति हुन् ।

उनीहरूको मुख्य पेसा भेडापालन हो। बर्सेनि हिउँदयामको सुरुआतसँगै बस्ती आसपासको लेकाली भेगमा हिमपात हुन थाल्छ। त्यसैले उनीहरू केही महिना औलमा बिताउँछन् । घर फर्कंदा भेडालाई बोकाएर खाद्यान्न पनि ओसार्छन्।

‘यो क्रम पुर्खाकै पालादेखि चल्दै आएको हो,’ समुदायका अगुवा नृप थापाले भने, ‘औलतिर आउजाउ गर्दा गर्भवती महिला पनि साथै हुन्छन्। कतिपय बाटोमै सुत्केरी हुन्छन्।’ मंसिर–पुसको चिसो ठिहीमा त्रिपालमुनि रात गुजार्छन् उनीहरू। बाटोमै सुत्केरी हुनु सामान्य ठान्छन् महिला। आराम गर्न पाउँदैनन्।

भेडाच्यांग्रा सँगै हुने भएकाले दोस्रो दिन अर्को गन्तव्यमा पुग्नैपर्छ। ‘परम्परागत बाध्यता र चेतना अभावले यहाँका भोटे जनजाति महिला बाटोमै सुत्केरी हुन्छन्,’ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भने, ‘शिशु र आमाको स्वास्थ्य जोखिममा पर्छ।’ बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ बच्चा जन्माइन्।

ती सबै बसाइँसराइकै क्रममा बाटोमै जन्मेका हुन्। ‘७ जनाको बाटैमा मृत्यु भयो,’ बिस्नाले भनिन्, ‘अति चिसोले सबै बालबच्चा जोगाउन मुस्किल पर्छ।’ सदरमुकाम रहेको बडीमालिका नगरपालिका–७ की ४९ वर्षीया पक्क थापाले पनि १४ सन्तान जन्माइन्। तीमध्ये १३ जना बसाइँ सर्ने क्रममै जन्मेका हुन्। ९ बच्चाको बाटोमै मृत्यु भयो। ‘महिलाहरूलाई सुत्केरी स्याहारबारे थाहै छैन,’ भोटे जनजाति सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका नृपले भने। याे खबर अाजकाे कान्तिपुरबाट लिएका हाैँ ।

विशेष