समाज

मंगलबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा मानव बस्ती नभएको ठाउँमा मात्र सवारी रोकिने

मंगलबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा मानव बस्ती नभएको ठाउँमा मात्र सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ ।

रातको समयमा बस्ती नजिक सवारी साधन रोक्दा यात्रुले बस्ती नजिक दिसापिसाब गरेर समस्या उत्पन्न भएपछि यही पुस १८ गतेबाट रातिमा बस्ती नभएको ठाउँमा सवारी रोक्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोक्दा मानव बस्ती नभएको क्षेत्रमा सवारी रोक्ने व्यवस्था मिलाइएपछि नारायणगढबाट मुग्लिनतर्फ जाने बस र साना सवारीसाधनलाई दासढुंगाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको छ ।

यसैगरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको उनले बताए । काठमाडौंतर्फबाट आउने बस र साना सवारीका लागि मुग्लिनबजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको छ । तनहुँतर्फबाट आउने सवारीसाधनलाई तनहुँ प्रहरीसँग समन्वय गरी उपयुक्त ठाउँमा रोक्ने व्यवस्था गरिने उनले जानकारी दिए ।

मुग्लिन बजारमा सार्वजनिक शौचालय रहेको र रातको समयमा पनि होटल खुल्ला रहने हुँदा बाहिर शौच गर्नुपर्ने बाध्यता नरहेको उनले बताए । लेवाटारमा मानव बस्ती कम रहेकाले समस्या नहुने अनुमान गरिएको छ । विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि यसलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा हालै सम्पन्न सरोकारवालाहरूको बैठकले राति छ घण्टा र दिउँसोको समयमा एकतर्फी सवारीसाधन सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउनेलगायतका कालोपत्रबाहेकका काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारीसाधन सञ्चालन गरेर कालोपत्रको काम अगाडि बढाउने निर्णय गरेको छ । बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी साधनको आवागमन प्रभावकारी बनाउने, सवारीसाधन रोकिएको समयमा कामलाई तीव्रता दिने, रातिको समयका काम गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हालसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको बताए । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मिटर र ३३ किलोमा तीन सय मिटर भित्तो काट्ने काम अझै बाँकी रहेको आयोजनाका इञ्जिनिर खनालले जानकारी दिए । उनका अनुसार हालसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्र भएको छ। सो सडक तीन पत्र कालोपत्र गरिँदै छ ।

Narayangad Muglin

विशेष