ओलीलाई देउवाको जवाफ, धन्यवाद दिनुपर्नेमा अनेक शंका गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताउनुभएको छ । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार छाड्ने बताउनुभयो ।
टुँडिखेलमा आयोजित कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्दै उहाँले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक गतिरोध तोडिएको बताउनुभयो । उहाँले अध्यादेश जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद पनि दिनुभयो । विभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेसप्रति शङ्का नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
‘काँग्रेसले २००७ सालको क्रान्तिदेखि २०६२ र ६३ को जनआन्दोलनसम्मको नेतृत्व गरेको इतिहास छ’, देउवाले भन्नुभयो, ‘हामी संविधान कार्यन्वयप्रति प्रतिबद्ध छौँ । त्यसै क्रममा निर्वाचन सम्पन्न भयो । यसमा धन्यवाद दिनुपर्नेमा अनेक शङ्का गर्ने रु’ उहाँले एमाले र माओवादी पार्टीलाई अनेक शङ्का नगर्न आग्रह गर्नुभयो । आजको गोरखापत्रमा खबर छ ।