खेल

१ रनको सनसनीपूर्ण जित, विराटनगर च्याम्पियन

१ रनको सनसनीपूर्ण जित, विराटनगर च्याम्पियन

काठमाडौं । नाटकीय फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग इपीएल ट्वेन्टी–२० क्रिकेटको उपाधि जितेको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमान्चक फाइनल खेलमा पारस खड्का नेतृत्वको विराटनगरले शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै उपाधि उचालेको हो ।

च्याम्पियन भएसँगै विराटनगरले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता भएको भैरहवाले १० लाखमा चित्त बुझायो । १५० रनको विजय लक्ष्य पछ्याएको भैरहवाले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो ।

नाटकीय खेलको आठौं ओभरमा हङकङका खेलाडी अंशुमान रथले अस्वाभाविक बलिङ गर्दै एकै ओभरमा ३५ रन खर्चिएपछि भैरहवा निकै बलियो अवस्थामा पुगेको थियो ।

तर, त्यसपछि विराटनगरका बलरहरुले कसिलो बलिङ गर्दै खेललाई अन्तिमसम्म लैजान सफल भए । १९औं ओभरमा विराटनगरका कप्तान पारस खड्काले शानदार बलिङ गर्दै २ विकेट लिएपछि भैरहवालाई जितका लागि अन्तिम ओभरमा ९ रन चाहियो ।

तर, अन्तिम ओभर बलिङ गर्न आएका नेपाली यु–१९ टोलीका खेलाडी अनिलकुमार साहले मात्र ७ रन खर्चंदै विराटनगरलाई सनसनीपूर्ण जित दिलाउन सफल भए ।

अन्तिम ओभरको पहिलो बलमा चौका व्यहोरेका साहले दोस्रो बलमा कृष्ण कार्कीलाई ५ रनमा आउट गरे । उनको चौथो बलमा खाता नखोलेका भुवन कार्कीलाई कप्तान पारस खड्काले रनआउट गरे । पाँचौ बलमा पुनित मिश्र पनि खाता नखोली आउट भए ।

भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ५२ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै, प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रनको योगदान दिए । तर, अरु ब्याट्सम्यान चल्न नसक्दा भैरहवा च्याम्पियन बन्नबाट चुक्यो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२, प्रनित थापामगरले १६ र बाबर हायतले ११ रनको योगदान गरे ।

बलिङतर्फ भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले समान २र२ तथा शरद भेषावकर र आरिफ शेखले समान १-१ विकेट लिए । फाइनल खेलको ‘म्यान अफ द म्याच’ विराटनगरका कप्तान पारस खड्का चुनिए ।

यस्तै, भैरहवाका रोहितकुमार पौडेल ‘भ्यालुएबल प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदा विराटनगरका ‘ओभरसिज प्लेयर’ बाबर हायात ‘प्लेयर अफ द सिरिज’ घोषित भए । यसअघि, लिग चरण र पहिलो क्यालिफायर्समा पनि विराटनगरले भैरहवालाई पराजित गरेको थियो ।

६ टिमले सहभागिता जनाएको प्रतियोगितामा काठमाडौं किंग्स इलेभेन र चितवन टाइगर्स समूह चरणबाटै बाहिरिएका थिए भने ललितपुर प्याट्रियट्स र पोखरा राइनोज् अन्तिम चारको भिडन्तबाट बाहिरिएका थिए ।

विशेष