समाज

किराँत समुदायको उधौली पर्व आज, नेवारको यमुरी पुन्ही पनि आजै

किराँत समुदायको उधौली पर्व आज, नेवारको यमुरी पुन्ही पनि आजै

काठमाडौं। किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ ।

प्रकृतिपूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किराँत समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किराँत राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ ।

उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् ।

यसैबीच नेवार समुदायले यस दिनलाई योमरी पुन्हीका रुपमा मनाउँछन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो । यसै दिन बाहुन क्षेत्री समुदायले भने आ–आफ्नो दिवाली गर्ने गर्दछन् ।

विशेष