खेल

नेपाल ७ विकेटले पराजित

नेपाल ७ विकेटले पराजित

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । 

युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य घरेलु टोली युएईले ४५ ओभर ५ वलमा तीन विकेटको क्षतिमा पार गर्यो । युएईको जितमा गुलाम सविरले दोस्रो विकेटका लागि क्याप्टेन रोहन मुस्तफासँग ८१ र तेस्रो विकेटका लागि रमिज सहजादसँग ६७ रनको साझेदारी गर्दै युएईको जित सुनिश्चित बनाए । 

मुस्तफा ६२ र सहजाद ३७ रनमा आउट भए भने सबिर ८१ रनमा नटआउट रहे । नेपालको हारसँगै शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतक ओझेलमा परेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको अर्धशतकीय पारीको सहयोगमा छ विकेट गुमाएर २२१ रनको योगफल बनाएको थियो । 

नेपालका शरद भेषावकरले ८१, ज्ञानेन्द्र मल्लले ५४, कप्तान पारस खड्काले २०, सोमपाल कामीले २० र विनोद भण्डारीले चार रन बनाएका थिए । नेपालका लागि वसन्त रेग्मीले अविजित १४ रन बनाए । 

बलिङतर्फ युएईका जहुर खान २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले एक-एक विकेट लिएका थिए । आठ राष्ट्र सहभागी च्याम्पियनसिपअन्तर्गत नेपाल र युएई यसअघि नै डिभिजन टुमा घटुवा भइसकेकाले दुवै टोलीलाई सातौ चरणका खेल प्रतिष्ठाको लडाइ मात्र हो । 

१३ खेलको समाप्तिमा ९ अंक जोडेको नेपाल तालिकाको छैटौ र समान खेलबाट युएईको आठ अंक छ । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहेर डिभिजन वान मै रहिराख्ने र विश्वकप छनोट खेल्ने सम्भावना यसअघि नै गुमाइसकेको छ । नेपाल र युएईबीचको दोस्रो खेल शुक्रबार हुनेछ । 

विशेष